आफ्नै गृहजिल्लामा लखेटिए एमाले नेता योगेश भट्टराई । शौचालयमा थुनेर सुरक्षा दियो प्रहरीले
ताप्लेजुङ, वैशाख ६ — नेकपा (एमाले) सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई आफ्नै गृह जिल्ला ताप्लेजुङमा जनआक्रोशको सामना गर्नु पर्यो। कञ्चनजंघा हिरक महोत्सवको उद्घाटनका लागि पर्यटन मन्त्री बद्री पाण्डेसँगै हेलिकप्टरमार्फत ताप्लेजुङ आएका भट्टराई नो केवलकार समूहको नाराबाजी र घेराबन्दीमा परे।
फक्ताङलुङ गाउँपालिका–६, लेलेपमा आयोजना गरिएको महोत्सवमा सहभागी हुन पुगेका सांसद भट्टराईलाई नो केवलकार अभियानकर्मीहरूले नाराबाजी गर्दै घेराबन्दी गरेपछि सुरक्षा चुनौती निम्तिएको थियो। स्थिति तनावपूर्ण बन्दै गएपछि स्थानीय सुरक्षा निकायले भट्टराईलाई सुरक्षित राख्नका लागि अस्थायी रूपमा शौचालयमा चुक्कुल लगाएर थुनिएको पुष्टि भएको छ।
घटनापछि केही समय महोत्सवको कार्यक्रम अवरुद्ध भयो। नाराबाजी गर्ने समूहले ताप्लेजुङमा प्रस्तावित केवलकार परियोजनाविरुद्ध आवाज उठाउँदै आएका छन्। उनीहरूको आरोप छ कि परियोजना स्थानीय हितविपरीत र वातावरणीय दृष्टिले विनाशकारी छ।
यस घटनापछि स्थानीय राजनीति फेरि तातिएको छ। नो केवलकार समूहले भट्टराईमाथि जनताको भावनाविपरीत काम गरेको आरोप लगाएको छ भने, भट्टराई पक्षले आन्दोलनलाई नियोजित राजनीति करार दिएको छ।
सुरक्षा व्यवस्था कडा पारिएसँगै महोत्सव पुनः सञ्चालनमा आएको छ। मन्त्री बद्री पाण्डेले कार्यक्रमको उद्घाटन गरेपछि संक्षिप्त मन्तव्य दिएर फर्किएको जनाइएको छ।
यस घटनाले ताप्लेजुङको विकास योजना, जनसरोकार र स्थानीय सहभागितामाथि गहिरो बहस चल्ने देखिन्छ।