अग्रगमन कि पश्चगमन ? राजनितीक विष्लेषक -प्रकाश कॅुवर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अग्रगमन: जुनसुकै विचार राख्ने भय पनि, देशको दीर्घकालीन हितलाई प्राथमिकता दिँदै, सुशासन, सेवाप्रवाह, सामाजिक न्याय र समृद्धि प्रवर्द्धन गर्ने व्यक्ति वा विचारधारा ।

पश्चगमन: जुनसुकै विचार राख्ने भए पनि, लोकतन्त्रको आडमा देशको साख घटाउने, जनताको दुहाइ दिने, भ्रष्टाचारमा संलग्न रहने, र देशलाई दोहन गर्ने व्यक्ति वा विचारधारा।

नेपालको राजनीतिक इतिहासमा "अग्रगमन" र "पश्चगमन" जस्ता शब्दहरूको अर्थ र प्रयोगलाई विभिन्न समयमा विभिन्न राजनीतिक दल र नेताहरूले आफ्नो स्वार्थअनुसार व्याख्या गरेका छन्।
राजनीति शास्त्रमा यस शब्दले व्यापक अर्थ समेटेको छ, जसले व्यक्तिको विचार, व्यवहार, नीति, योजना, र समग्र जीवनमा सकारात्मक परिवर्तनको संकेत गर्दछ। अग्रगामी भन्नाले कुनै पनि व्यक्ति, समाज वा संस्थालाई पुराना मुल्य र  परम्परालाई सम्मान गर्दै  नविनता, विकास, र सुधारतर्फ उन्मुख हुने विचारधारा वा गतिविधिहरूलाई इंगित गर्दछ। यस शब्दले प्रायः प्रगतिशीलता, सुधारको चाहना, र भविष्यप्रति आशावादी दृष्टिकोणलाई जनाउँछ।

अग्रगमनको अर्थ प्रगति, विकास, र सकारात्मक परिवर्तनतर्फको अग्रसरता हो। यसले समाज, देश, वा व्यक्तिको अवस्था सुधार्न, आधुनिक बनाउन, र समृद्धि हासिल गर्न गरिएको निरन्तर प्रयासलाई जनाउँछ। अग्रगमन भनेको कुनै पनि क्षेत्रमा नयाँ सोच, नवीनता, र उन्नति तर्फको यात्रा हो। अग्रगमन र पश्चगमनको यस्तो घातक परिभाषाबाट गाँजिएको छ नेपाली समाज । अग्रगमन र पश्चगमनको परिभाषा विचार र आचरणको समायोजन , देशको दीर्घकालीन हित , समाजको समुन्नतिको कसीमा खोजौं । नत्र यो देशमा हामी विचारकै आधारमा फटाहा , लुटाहा , भ्रष्ट , आत्मकेन्द्रित , राष्ट्रघातीहरूलाई अग्रगामी र असल , इमानदार , सामाजिक दायित्वबोध भएका , राष्ट्रसेवीलाई विचार नमिलेकै आधारमा पश्चगामी भनिरहनेछौं । त्यस्तै आफूलाई वामवादी या अग्रगामी भन्नेहरूले दूषित बनाएको अर्को एउटा शब्द छ- प्रगतिशील । मानौँ , त्यो आफूलाई अग्रगामी भन्ने वा वामपन्थी भन्नेहरूको मात्र पेवा शब्द हो । मानौं , उनीहरूभन्दा विपरीत दृष्टिकोण राख्ने एक जना सामाजिक दायित्वबोध भएको र समाज रूपान्तरणमा सदा इमानदार योगदान पुऱ्याउने व्यक्ति प्रगतिशील हुनै सक्दैन । बिचार नमिल्ने  अरू सबै पश्चगामी या अप्रगतिशील हुन् । अब अग्रगमन र पश्चगमनको र त्यस अर्थमा प्रगतिशील र अप्रगतिशीलको परिभाषा बदलौं ।

नेपालको  परिप्रेक्ष्यमा संवैधानिक राजसंस्था, धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दू-बौद्ध राष्ट्र सहितको सबै धर्मलाई  संरक्षण, र स्थानीय तहको ब्यापक पुनर्संरचना गर्दै सङ्घीयताको खारेजीलाई अग्रगमनको रूपमा हेर्नुपर्छ, यो कुनै पनि प्रकारले पश्चगमन होइन। गोर्खा जानुपर्ने मानिस गोरखपुरतिर हिँडेर कहिल्यै गोर्खा पुग्न सक्दैन । तर गोरखपुर त्यस्तो गन्तव्य हो , जहाँ पुगिसकेपछि फर्किने  सम्भावना कमै रहन्छ। ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।