चार हजार जनाको ईसेवा अकाउन्टबाट एक करोडभन्दा बढी रकम चोरी, मुख्य अभियुक्त कञ्चनपुरबाट पक्राउ
काठमाडौं, वैशाख ४ –
मोबाइलमा आउने अलर्ट सन्देश (SMS) मार्फत फिसिङ लिंक पठाई चार हजारभन्दा बढी व्यक्तिको ईसेवा अकाउन्ट ह्याक गरी एक करोड रुपैयाँभन्दा बढी रकम चोरी गरिएको खुलेको छ।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको जानकारी अनुसार, यो साइबर अपराधमा संलग्न कञ्चनपुरका २२ वर्षीय राहुल बुढालाई कालीमाटीबाट पक्राउ गरिएको हो।
एसपी अंगुर जिसीका अनुसार, बुढाले ‘द अलर्ट’ र ‘एटी अलर्ट’ जस्ता आधिकारिक देखिने फिसिङ लिंकहरू एसएमएस मार्फत पठाएर प्रयोगकर्तालाई “तपाईंको खाता बन्द हुन लागेको छ, तुरुन्तै भेरिफाइ गर्नुहोस्” भन्ने चेतावनी दिई लिंक खोल्न बाध्य पार्थे।
प्रयोगकर्ताले ती लिंक खोल्नेबित्तिकै उनीहरूको ईसेवा खातामा अनधिकृत पहुँच बनाई बुढाले मौज्दात रकम पशुपति ग्लोबल इनोभेसन प्रा. लि. नामक मर्चेन्ट खातामा ट्रान्सफर गरेका थिए।
हालसम्मको अनुसन्धान अनुसार, उनले ४ हजारभन्दा बढी व्यक्तिका खाताबाट जम्मा एक करोड दुई लाख रुपैयाँ बराबरको रकम चोरी गरेका छन्।
प्रहरीले बुढालाई पक्राउ गरी थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौं पठाएको जनाएको छ।
साइबर सुरक्षाको अभावमा बढ्दो डिजिटल ठगीप्रति सचेत रहन विशेषज्ञहरूले सुझाव दिएका छन्। प्रयोगकर्ताहरूलाई अनधिकृत लिंकमा क्लिक नगर्न र आधिकारिक एप वा वेबसाइटमार्फत मात्रै सेवा प्रयोग गर्न आग्रह गरिएको छ।