नेपालको पर्यटन राजधानी पोखरामा आजदेखि ‘अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव २०२४’ सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालको पर्यटन राजधानी पोखरामा आजदेखि ‘अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव २०२४’ सुरु भएको छ । पोखरा महानगरपालिका प्रवर्द्धक रहेको बेलुन महोत्सव बेलुन नेपाल प्रा.ली र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा अङ्ग्रेजी नयाँ वर्ष २०२५ को पहिलो दिनसम्म चल्नेछ । 

महोत्सवमा नेपाल सहित स्पेन, फ्रान्स, लिथुवानिया, मलेसिया, जापान, अस्ट्रेलिया, अमेरिका, अस्ट्रिया, कोरिया, इटली, युके, लाओस, जर्मनी, भारत, दुबई, नेदरल्यान्ड, थाइल्यान्ड, बेल्जियम लगायत देशका हट एयर पाइलटहरूले बेलुन उडाइरहेका छन् । पछिल्लो समय पोखराको पर्यटनमा नयाँ आयामका रूपमा एयर बेलुन स्थापित हुँदै गइरहेको छ । 

पोखरा महानगरपालिका वडा नं.२३ र २४ मा पर्ने फेवा फाँटअन्तर्गतको लौरुकदेखि चंखपुरसम्मको तीन किलोमिटर क्षेत्रमा हट एयर बेलुनको उडान हुनेछ । महोत्सव अवधिभर दैनिक बिहान र साँझ गरी पोखराको आकाशमा १७ वटा आकर्षक बेलुनहरू उड्नेछन् । पाँच हजार फिट माथिसम्म उडान गर्ने बेलुनहरू करिब ४० मिनेट आकाशमा हुनेछन् । बेलुन महोत्सव साहसिक खेलकुदको माध्यमबाट पोखराको पर्यटन प्रवर्द्धन गर्ने एक महत्त्वपूर्ण क्रियाकलापको रूपमा दर्ज हुनेछ । 

पोखरा महानगरपालिका महोत्सव आयोजक र सहभागी स्वदेशी तथा विदेशी पाइलटहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछ ।

-पोखरा महानगरपालीका 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।