विषय-ध्यानाकर्षण सम्बन्धमा
पोखरा महानगरपालिकाको विभिन्न मितिमा भएका कार्यपालिकाको बैठकको निर्णयहरु कार्यान्वयनका सम्वन्धमा पछिल्लो समय महानगरपालिका र विभिन्न राजनितिक दलबाट महानगरमा निर्वाचित जनप्रतिनिधिहरुका विच देखिएको मतभेद र त्यसबाट उत्पन्न राजनितिक परिस्थिति प्रति निर्वाचित वडाध्यक्षको हैसियतले मेरो गंभिर ध्यानाकर्षण भएको छ।२५ औं कार्यपालिका बैठकले गरेको निर्णय कार्यान्वयनको सम्वन्धमा नेकपा एमाले समर्थित जनप्रतिनिधिहरुले महानगरमा धर्ना दिईरहँदा उत्पन्न विषम परिस्थितिबाट घाईते हुनुभएका महानगरका सुरक्षाकर्मीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।महानगर नेतृत्वले गरेका निर्णय र राजनितिक मुद्दाका सम्वन्धमा असहमति जनाउँदा राष्ट्रसेवक कर्मचारीलाई केन्द्रित बनाई प्रहार गरिनु हुँदैन भन्ने मेरो मान्यता हो।निर्णय कार्यान्वयनका सम्वन्धमा सिङ्गो कार्यपालिकाको नेतृत्व गर्ने नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृत जिम्मेवार हुनु पर्छ र त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको कानूनी र नैतिक जिम्मेवारी समेत लिनु पर्छ।
महानगर भित्रका बिकृती,विसंगति एवं कर्मचारी प्रशासन सुधारका लागि यसअघि मैले भद्र तरिकाले पटक पटक ध्यानाकर्षण गराएको थिए।जनप्रतिनिधिले गर्ने निर्णयको पारदर्शिता र जवाफदेहिताका लागि अझ बढी जिम्मेवार बनाउन कार्यपालिकाको बैठकको प्रत्यक्ष प्रसारण समेतको माग उठाउँदै आएको छु ।
महानगरमा आवश्यक पर्ने कर्मचारीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी त्यसका आधारमा जनशक्तिलाई चुस्त दुरुस्त बनाई सेवा प्रवाह गर्नु पर्नेमा नीति,नियम भन्दा बाहिर गई करारमा कर्मचारी राख्ने,महानगरलाई आर्थिक दायित्व थपिने गरी अन्यत्रबाट कर्मचारीलाई काजमा ल्याउने अवस्थाले पछिसम्म गंभिर असर पर्न सक्ने तर्फ सवै सचेत हुनु पर्छ।
कार्यपालिकाको निर्णय कार्यान्वयनका सम्वन्धमा देखिएको दवाव र उत्पन्न परिस्थितिलाई वार्ता र सम्वादको माध्यमबाट समाधान खोजिनु पर्दछ र यसका लागि नेपाली काग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि एवं महानगरको नेतृत्व गर्नुहुने नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृत गंभिर भएर लाग्न विशेष अनुरोध गर्दछु र तत्काल एक कार्यदल गठन गरी सवै समस्याको प्याकेजमा हल गर्ने तर्फ लाग्न महानगर नेतृत्वलाई आग्रह गर्दै, त्यसका लागि आवश्यक वातावरण बनाउन सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु।विवादलाई यथाशिघ्र समाधान गरी दैनिक सेवा प्रवाहलाई सहज बनाउन र विकास निर्माणको काममा केन्द्रित हुन समेत सम्पूर्णलाई हार्दिकअनुरोध गर्न चाहान्छु ।
नरेन्द्र थापा
वडा अध्यक्ष
वडा नं. २६
एवं
संयोजक
भौतिक पूर्वाधार समिति
पोखरा महानगरपालिका