पोखराको पहिलो अस्पताल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखराको पहिलो अस्पताल

बि.सं. २००२ सालतिर पोखरामा औलो तथा झाडापखालाको प्रकोप निकै बढेको थियो । १९९० तिर खुलेको बिन्द्यवासिनी मन्दिर नजिकैको बैद्यखानाले बैद्य औषधीबाट उपचार गरिदै थियो । साथै तेर्सापट्टीका बैद्यहरुले पनि उपचार गरिरहेका थिए । तर रोग अझ ब्यापक भए पछि राणा बडाहाकिम धनशम्शेरले गाँउघरमा पाइने जडिबुटीबाट गरिने होमियोप्याथिकको बैद्य उपचार भन्दा भरपर्दो र बिश्वासिलो भन्दै आधुनिक उपचार पद्धती एलोपेथिक उपचार गर्न बैद्यखानाको शुरुवात गरे ।

रानीपौवा महेन्द्र बटालियन रहेको अहिलेको आर्मी ब्यारेक रहेको स्थानमा मिलिसिया अड्डा थियो । शुरुमा सैनिकहरु मिलिसिया नै भनिन्थ्यो । त्यहि खरको झुप्रोमा पोखराको पहिलो अस्पताल खोलिएको थियो । यस अस्पताल (बैद्यखाना)मा कम्पाउण्डरको रुपमा गणेशलाल रञ्जित पोखरा आएका थिए । केही महिनाको तालिम लिएका गणेशलाल नै पोखराको पहिलो डाक्टर झै भएका थिए । उनले एलोपेथिक दवाइबाट उपचार गर्दथे । यसको केही समय पछि बिसं २००४ सालमा दयाविर सिंह कंसाकारले पोखरामा परोपकार औषधालय खोलेका थिए ।

बि.सं. २००६ सालको पौष तिरको कुरा त्यतिबेला औषधी बिभागमा डाइरेक्टर थिए मेजर जनरल सुरशम्शेर जङबहादुर राणा । यसै बेला अमेरिका स्थित "सिकागो नेचुरल हिस्ट्री म्यूजियम"को तर्फबाट नेपालमा डा. कार्ल इ टेलर आइ पुगेका थिए । नौतनवा हुदै नेपाल पसेका उनि केही समय पाल्पाको साइनिङ हस्पिटलमा सेवा गरे । तीन महिनाको नेपाल बसाइमा उनले पाल्पा पछि रिडी हुदै बलेवा बागलुङ हुदै जोमसोम सम्म पुगे भने त्यसपछि पोखरा आइपुगेका थिए ।
पोखरामा आइपुग्दा उनले पोखरामा अस्पतालको रुपमा रहेको चित्रमा देखाइएको साधारण खरको घरमा एक कम्पाउण्डरले सेवा गरिरहेको भेटे । केवल दुइ महिनाको साधारण तालिम प्राप्त गरेका ब्यक्ती नै अस्पतालका प्रमुख थिए । पोखराको केही समय बसाइका आधारमा डा. कार्ल इ टेलरले मेडिकल सर्भे अफ दि कालिगण्डकी एण्ड पोखरा भ्याली भनेर लेख नै तैयार पारेका थिए ।

नेपालमा तीन महिना बिताए पनि डा. कार्लले भने न त सुरशम्शेरलाई भेट्न पाए । न त काठमाडौमा स्वास्थ्योपचारको बारेमा नै बुझ्न पाए । उनले नेपालमा स्वास्थ्य विभागको अवस्था पनि बुझ्न पाएका थिएनन् । किनकी उनलाई काठमाडौ जाने नै अवसर मिलेन । तर पनि उनले थाहा पाए । काठमाडौमा आधुनिक स्वास्थ्योपचारको ब्यबस्था छ । उनले २०० शैयाको क्षयरोगको अस्पताल भएको थाहा पाएका थिए । साथै सो अस्पतालमा बंगालबाट ल्याइएका डाक्टरहरुले उपचार गर्ने थाहा पाएका थिए । तर काठमाडौ बाहेक अन्यत्र भने स्वास्थ्य उपचारको लागि समस्या नै रहेको थाहा पाएका थिए । यदि सम्पन्न छन भने गोरखपुर, लखनउ वा पटना तिर उपचार गर्न जाने गरेको सुनेका थिए । अन्य शहरहरु जस्तै रिडी बजार, बागलुङ तथा पोखरामा भने बनारस अथवा काठमाडौमा छोटो तालिम लिएका कम्पाउण्डरहरुले नै स्थानिय अस्पताल चलाएका थिए । तर परम्परागत रुपमा आयुर्वेदिक औषधी सहित उपचार गर्ने बैद्यहरु भने धेरै जसो ठाउँमा भेटिन्थे ।

त्यो समय पोखरामा २०२ जना विरामीको जाँच गरेका थिए । जसमध्य २५ विरामीमा झाडापखाला, ६ विरामी औलोका, १३ विरामी दमका, ११ विरामी क्षयरोगका, २ विरामी टाइफाइडका, ४ विरामी पोलियोका तथा १४ विरामी अत्यधिक ज्जरोका कारण कान नसुन्ने समस्याले समेत आएका थिए । 

करिव तीन महिनाको नेपाल बसाइमा डा. कार्ल इ टेलरले ८६६ बिरामीको जाँच गरेका थिए । जसमध्य ७८५ को उपचारको आबश्यकता भएको थियो । पोखरामा सबैभन्दा धेरै २०२ जनाको उपचार गरेका थिए भने टुकुचेमा १०१ जना, दानामा ७५, बागलुङमा ६४, तानसेनमा ६३, रिडीमा ५१, बलेवामा ५१, बिरेठाटीमा ४५, उल्लेरीमा ३४, लुम्पेकमा ३१, स्याङ्जा नुवाकोटमा २९, जोमसोममा २० तथा पुर्तिघाटमा १९ विरामीको जाँच गरेका थिए ।

उनको तीन महिनाको अवधिमा विरामी जाँच तथा उपचार रहे पनि अप्रेशनका कुरा खासै उठेको थिएन । तर पनि उनले साधारण अपरेशनका लागि सामान भने ल्याएका थिए । पाल्पामा सुब्बा साहेवको जाँचका क्रममा तल्लो ओठको भित्र तिर ठूलो मासु पलाएको (Large BCC) थियो । जसको अपेरेशन गर्नुपर्ने भए पछि पाल्पाको टुँडिखेलमा ठूलो ढुङ्गामा सुताएर अपेरशन गरे । जुन हेर्न टुँडिखेल भरि मानिसहरु भरिएका थिए । यो अपरेशन सफल भए पछि धेरै विरामीले आफ्नो समस्या समाधानका लागि अपरेशन गर्न अनुरोध गरे । तर अति आबश्यक बाहेक अन्य अपरेशन भने गरेनन् । सो अवधिमा जम्मा ५७ अपरेशन गरिएकोमा २८ वटा ठूला अपरेशन थिए । जसमध्य १२ अपरेशन बच्चाहरुले बलिरहेको आगोमा रहेको कोइला समाएर जलेको हातको अपरेशन गरिएको थियो । हरेक अपरेशन अगाडि स्थानीयको चाहनाले देवताको पूजा गरेपछि मात्र थालिन्थ्यो । बेहोस बनाउने दवाइ खासै राम्रो नभए पनि बच्चाहरुको अपरेशन गर्दा सहन सक्ने थिए । नेपालीहरु बहादुर हुन्छन भन्ने ति बच्चाहरु देखेर पनि उनलाई साच्चै रहेछ भन्ने लागेको थियो ।

तस्विरमा देखिएका तथा कार्ल इ टेलरले भेटेका कम्पाउण्डर नै स्व. गणेशलाल रञ्जित हुनुहुन्थ्यो । तस्विरमा अस्पताल (बैद्यखाना) अगाडी उभिनु भएको वहाँ नै हुनुहुन्छ । यो अस्पताल हालको शोभाभगवतीको मन्दिर भन्दा उत्तर पूर्वमा थियो । सानो जाली जस्तो बनाएको कोठामा औषधी राखिएको थियो । ढुङ्गाको सिँढी चढेर माथि उपचार कक्ष थियो । यो अस्पतालको पश्चिममा त्यो समय आकाशवाणी अड्डा खुलेको थियो । जसलाई पछि दुरसञ्चार भनियो र महेन्द्रपुल हुलाकसंगै स्थापना गरियो । पछि बिस्तारको क्रममा पून रानीपौवामा पनि दुरसञ्चारको कार्यालय राखियो । 

यहाँ प्रसंग खरको झुप्रोको रुपमा रहेको अस्पतालसंगै पूर्व तर्फ देखिएको पक्की घर वास्तवमा रानीपौवा हो । जुन राजा रणबहादुर शाहकी रानी राजेन्द्रलक्ष्मीले मुक्तिनाथबाट फर्कने क्रममा बनाइदिएका थिए । रानीले बनाइदिएको पौवा भएको हुँदा रानीपौवा भनियो । पछि कालान्तरमा यो समुच्च ठाउँको नाम नै रानीपौवा रहन गयो । यस किसिमको रानीले बनाइदिएको पौवा मुक्तिनाथ मन्दिर देखि काठमाडौ सम्म फर्कने क्रममा धेरै ठाउँमा बनाइदिएका थिए । अहिले पनि मुक्तिनाथ, पोखरा, सल्यानटार, ककनीमा रानीपौवा भन्ने स्थान भेटिन्छ । त्यसबेला रानीले ७.८ वटा पौवा बनाएका थिए भनिन्छ । 

कार्ल इ टेलर फर्किएको केही समय पछि कान्छी डाक्टर तथा ठूली डाक्टरको समुहको पोखरा आगमन भएको थियो । वहाँहरुको प्रयासले नै साइनिङ हस्पिटलको जन्म भएको थियो । यस सम्बन्धी सम्पूर्ण जानकारी डेभिड हकरले लेख्नुभएको "कान्छी डाक्टर रुथ वाटसन" नामक कान्छी डाक्टरको जीवनीको पुस्तकमा लेखिएको छ ।

✍️@Sunil ulak

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।