राजनीतिक पहुँच भएकाहरूको एउटा समूहले म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब नगद हिनामिना गरेको खुलेको छ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजनीतिक पहुँच भएकाहरूको एउटा समूहले म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब नगद हिनामिना गरेको खुलेको छ । म्याग्दी जिल्ला समन्वय समिति प्रमुख रहेका एमाले नेता राजकुमार थापाको नेतृत्वमा सर्वसाधारणको १ अर्ब ४९ करोड रुपैयाँ हिनामिना भएको सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीले गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ

सहकारीका हालका अध्यक्ष यमबहादुर रोकाले ०८१ जेठ २५ मा सहकारी रजिस्ट्रारको कार्यालयमा निवेदन दिएर संस्थाको आर्थिक हिसाबकिताब छानबिन गरिदिन माग गरेका थिए । त्यसपछि सहकारी रजिस्ट्रारको कार्यालयले वित्तीय विश्लेषक निर्मल गौतमलाई छानबिन गर्ने अधिकारी तोकेको थियो । ‘सहकारीको समग्र वित्तीय विश्लेषण गर्दा राजकुमार थापाको नेतृत्वमा रहेको समितिकै पदाधिकारीको मिलेमतोमा १ अर्ब ४९ करोड नगद हिनामिना गरेको देखिन्छ,’ गौतमले भने, ‘सहकारीमा चरम वित्तीय अराजकता पाइएको छ ।’

०६५ सालमा खुलेको सहकारीमा थापा सुरुवाती दुई कार्यकाल सचिव र ०७९ मा जिसस प्रमुख निर्वाचित हुनुअघिसम्म उपाध्यक्ष थिए । १ सय १९ पृष्ठ लामो छानबिन प्रतिवेदनमा सर्वसाधारणको रकम हिनामिनामा मुख्य दोषी थापालाई नै किटान गरिएको छ । प्रतिवेदनअनुसार थापाले बेनी बजारमा चलाउँदै आएको निजी स्कुल बुद्ध एकेडेमीमा सहकारीबाट १६ करोड रुपैयाँ लगिएको छ । सहकारीको रकम लैजाँदा थापाले कुनै धितो राखेका छैनन् । थापा र लोकबहादुर पुनले सहकारीबाट १८ करोड निकालेर पर्वतको जलजला गाउँपालिकामा जग्गा किनेका छन् । यस्तै सहकारीबाट १० करोड निकालेर राजकुमार थापा, लोकबहादुर पुन, गेमबहादुर घर्ती र मनप्रसाद छजालीका नाममा जग्गा खरिद गरिएको छ । सहकारीको रकमबाट जग्गा खरिद गरेर प्लटिङ गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । उनीहरूले रकम निकाल्दा कुनै धितो राखिएको छैन । बिनाधितो नगद झिक्ने बेला थापाले सहकारीका कर्मचारीलाई धम्की दिएको अडियो रेकर्डसमेत समितिले छानबिन गरेको थियो ।

थापाकी श्रीमती र सहकारीका सञ्चालक समितिका पदाधिकारीका नाममा १५ करोड रकम निकासा भएको छ । सहकारीकै पूर्वव्यवस्थापक रुद्रबहादुर गुरुङले ५ करोड, लेखासमितिका पदाधिकारी लोकबहादुर पुनले ३० लाख रुपैयाँ हिनामिना गरेको पाइएको छ । सहकारीको बचत हिनामिनामा संलग्न सबैजसो पदाधिकारीएमाले निकट छन् । उनीहरूले सबैजसो कर्जा शून्य प्रतिशत ब्याजदरमा लिएको प्रतिवेदनमा उल्लेख छ

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।