राजसंस्था पुनर्स्थापना र हिन्दु अधिराज्य स्थापनाको माग गर्दै पोखरामा रिले अनशन सुरु — तिनकुने घटनाको निष्पक्ष छानबिनसहित ११ बुँदे माग
पोखरा, १ बैशाख —
राजसंस्था पुनर्स्थापना, वैदिक सनातन हिन्दु अधिराज्यको स्थापनासहित विभिन्न ११ बुँदे माग राख्दै पोखरामा स्वतन्त्र युवाहरुले अनिश्चितकालीन रिले अनशन सुरु गरेका छन्। ‘स्वतन्त्र नेपाली नागरिक, पोखरा’ को अगुवाइमा शनिबार (चैत्र ३१) बाट सुरु गरिएको अनशन कार्यक्रम पोखराको मुस्ताङ चोकमा जारी छ, र आज दोस्रो दिनमा प्रवेश गरेको छ।
रिगेन्द्र गिरि, मनोज जंग थापा, प्रकाश कुँवर, विजय पराजुली लगायत विभिन्न सामाजिक र राष्ट्रिय सरोकारका स्वतन्त्र अभियन्ताहरूको सहभागितामा सुरु भएको रिले अनशनले वर्तमान व्यवस्था र शासकीय चरित्रप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै तत्कालिक सुधारको माग गरेको छ।
आन्दोलनको पृष्ठभूमि
गत चैत्र १५ गते काठमाडौंको तिनकुनेमा भएको झडपपछिको घटनालाई लिएर राष्ट्रियताका नाममा आन्दोलनमा उत्रिएका युवाहरूमाथि भएको दमन, पक्राउ, तथा राज्यद्वारा गरिएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै युवाहरुले रिले अनशनको मार्ग रोजेका हुन्। उनीहरुले घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार समक्ष माग गरेका छन्। साथै, घटनासँग सम्बन्धित मृतकहरुलाई सहिद घोषणा गर्न र घाइतेहरुको उचित उपचार तथा पुनःस्थापनाको माग पनि गरिएको छ।
आन्दोलनकर्ताहरूका ११ मुख्य माग
१. ‘आस्थाका बन्दी’ बनाईएकाहरुको तत्काल रिहाइको माग:
आन्दोलनमा संलग्न भएको आरोपमा थुनामा रहेका सम्पूर्ण राष्ट्रवादी युवाहरूलाई बिना सर्त रिहा गर्न माग।
२. संवैधानिक राजसंस्थाको पुनर्स्थापना:
नेपालको सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएको राजसंस्थालाई पुनःस्थापित गर्न माग।
३. वैदिक सनातन हिन्दु अधिराज्यको स्थापनाः
नेपाललाई पुनः हिन्दु अधिराज्य घोषणा गर्दै वैदिक जीवनशैली र परम्पराको संरक्षण गर्न जोड।
४. प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था:
वर्तमान शासन प्रणालीको विकल्पस्वरूप प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने माग।
५. बैंक तथा वित्तीय संस्थाहरूको ज्यादती नियन्त्रण:
आम नागरिकप्रति वित्तीय संस्थाहरुको दुर्व्यवहार, मनपरी ब्याजदर र ऋणप्रणालीप्रति आपत्ति।
६. ‘५ ग’ को संरक्षण:
गाँउ, गाई, गोरक्ष, ज्ञान र गाँजाको संरक्षण गर्दै तिनको समुचित उपयोग सुनिश्चित गर्नुपर्ने माग।
७. तिनकुने घटनाको निष्पक्ष छानबिन:
चैत्रन १५ गतेको घटनाको सत्यतथ्य बाहिर ल्याउन स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठनको माग।
८. घटनासँग जोडिएका योद्दाहरुको रिहाइ र मुद्दा फिर्ता:
राज्य आतंक अन्तर्गत बन्दी बनाइएका सबै राष्ट्रवादी योद्धाहरूको रिहाइ र मुद्दा खारेज।
९. घटनामा मृत्यु भएका युवाहरूलाई सहिद घोषणा:
मृतकलाई सहिद घोषणा र घाइतेहरूलाई उचित उपचार तथा रोजगारीको व्यवस्था।
१०. विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित:
वैदेशिक रोजगारी तथा बसोबास गरिरहेका नेपाली नागरिकलाई मताधिकारको हक सुनिश्चित गर्न।
११. भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति:
भ्रष्टाचारमा संलग्न उच्चपदस्थ व्यक्तिहरूलाई कारबाही गर्दै शासन प्रणालीमा पारदर्शिता कायम गर्ने माग।
सशक्त र शान्तिपूर्ण अभियान
आयोजकहरूका अनुसार यो आन्दोलन कुनै दल विशेषको नभई आम नागरिक र राष्ट्रप्रति समर्पित स्वतन्त्र युवाहरूको साझा आवाज हो। शान्तिपूर्ण रिले अनशनबाट सरकारलाई जनभावनाको कदर गर्न आग्रह गरिएको छ। उनीहरूले यो अभियान माग पुरा नहुञ्जेलसम्म जारी राख्ने जनाएका छन्।
स्थानीय जनसमर्थन
पोखराको विभिन्न सामाजिक वर्ग, बुद्धिजीवी, विद्यार्थी र धार्मिक संघसंस्थाहरूले पनि यस आन्दोलनप्रति चासो र समर्थन देखाइरहेका छन्। प्रदर्शन स्थलमा दिनहुँजसो सर्वसाधारणको उपस्थिति बढ्दै गएको छ।
स्वतन्त्र नागरिकहरूको यो अभियानले देशभरि नै बहस र चासोको विषय बनिरहेको छ। यदि सरकार गम्भीर रूपमा प्रस्तुत नभए, आन्दोलनकर्ताहरूले देशव्यापी रुपमा आन्दोलनको घोषणा गर्न जानकारी समेत दिएका छन् ।