रिले अनशनको चौंथो दिनमा गोरखनाथका गुरुवरहरूको ऐक्यबद्धता
पोखरा बैशाख ३— पृथ्वीपथको संरक्षण र गोरक्ष सम्प्रदायका धार्मिक तथा सांस्कृतिक मूल्यमान्यताको पक्षमा ११ बॅुदे माग सहित जारी रिले अनशन आज चौंथो दिनमा प्रवेश गरेको छ। यस विशेष घडीमा श्री शिवगोरक्ष शक्तिपिठ सिद्दाश्रमका आदरणीय गुरु योगी बलभद्रनाथ र योगी त्रिशक्तिनाथ महराजले ऐक्यबद्धता प्रकट गर्दै अनशनमा आफ्नो समर्थन जनाउनुभएको छ ।
उहॅाहरूले अनशनस्थलमा पुगेर आन्दोलनरत युवाहरु सॅग भेटघाट गर्नुभएको थियो र मुलुकको मौलिक मार्ग प्रणाली तथा सनातन धर्मसंस्कृति माथि भइरहेको उपेक्षा विरुद्ध आवाज उठाउन सबैलाई आग्रह गर्नुभयो । “पृथ्वीपथ केवल सडक होइन, यो हाम्रो सभ्यता, इतिहास र पहिचानको प्रतीक हो,” योगी बलभद्रनाथले भन्नुभयो ।
आन्दोलन अर्थात अनशन कार्यक्रममा सहभागीहरूका अनुसार, उनीहरूको मुख्य माग भनेको पृथ्वीपथको ऐतिहासिक र धार्मिक महत्वलाई कायम राख्दै यसको संरक्षण सुनिश्चित गर्नु हो। साथै, गोरक्ष परम्परालाई राज्यस्तरबाट सम्मान र संरक्षण प्रदान गर्नुपर्ने माग पनि उठाइएको छ।
अनशनमा देशका विभिन्न क्षेत्रबाट साधु–सन्त, धर्मप्रेमी नागरिक र सामाजिक अभियन्ताहरूको सहभागिता बढ्दो छ। समर्थकहरूले ‘#जयपृथ्वीपथ’ र ‘#जयगोरक्ष’ जस्ता नारासहित सामाजिक सञ्जालमा व्यापक समर्थन जनाइरहेका छन्।
आन्दोलनको नेतृत्व गरिरहेका युवा प्रतिनिधिहरूले सरकारसँग वार्ताका लागि तयार रहेको जनाउँदै माग पुरा नभएसम्म अनशन जारी राख्ने दृढता व्यक्त गरेका छन्।