रिसको आवेगमा भत्किएको परिवार: एक डिभोर्सी महिलाको आत्मकथा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रिसको आवेगमा भत्किएको परिवार: एक डिभोर्सी महिलाको आत्मकथा

काठमाडौं , फाल्गुन १५ 

“डिभोर्स अघि श्रीमानको घर जेल जस्तो लाग्थ्यो, आज डिभोर्स भएको तीन वर्षपछि आफ्नै घर नै नर्क जस्तो लाग्छ।”

यो भनाइ एक महिलाको हो, जसले आफ्नै अनुभव सार्वजनिक गर्दै अन्य दिदीबहिनीलाई आवेगमा निर्णय नगर्न आग्रह गरेकी छन्।

१९ वर्षको उमेरमा आफ्नै रोजाइमा विवाह गरेकी उनी भन्छिन्, सुरुका दिनहरू सुखद नै थिए। उनका श्रीमान शान्त स्वभावका र कामकाजी थिए, यद्यपि अलिक जिद्दी स्वभावका। विवाहपछि तीन वर्षसम्म परिवार टिक्यो र उनीहरूको एक वर्षको छोरा पनि थियो।

तर सम्बन्धमा साना–साना विवादहरू बढ्दै गए। आफू भावुक र छिटो रिसाउने स्वभावकी भएकाले सानो कुरामा पनि माइत जाने बानी परेको उनी स्वीकार्छिन्। माइतीपक्षले सधैं आफूलाई समर्थन गर्ने र श्रीमानलाई दोष दिने क्रम चलिरहँदा उनले आफ्ना कमजोरी लुकाउँदै गइन्।

एक दिनको झगडामा उनले श्रीमानलाई असह्य शब्द प्रयोग गरिन्। त्यसपछि रिसको आवेगमा श्रीमानले एक थप्पड हाने। “त्यो एक झापडले मेरो जीवन नै बदलिदियो,” उनी सम्झिन्छिन्।

रिसाएर उनी छोरा बोकेर माइत गइन् र महिला हिंसाको मुद्दा दायर गरिन्। पछि श्रीमानले माफी मागेपछि मुद्दा फिर्ता भए पनि सम्बन्धमा आएको दरार मेटिएन। केही समय सँगै बस्ने प्रयास भए पनि पुनः विवाद बढ्दै गयो र अन्ततः सम्बन्धविच्छेद भयो।

छोरा उनीसँगै रह्यो र अदालतबाट मासिक खर्च तथा अंशसमेत प्राप्त भयो। कानुनी रूपमा स्वतन्त्र भए पनि मानसिक रूपमा भने आफू एक्लोपनको कारागारमा परेको महसुस भएको उनी बताउँछिन्।

तीन वर्षपछि श्रीमानले पुनः विवाह गरिसकेको खबर सुन्दा आफू भित्रैदेखि भत्किएको उनले स्वीकारिन्। “एक झिल्को रिस, अलिकति अहंकार र माइतीको अन्ध समर्थनले मेरो पुरै परिवार सधैंका लागि टुट्यो,” उनको आत्मस्वीकार छ।

सम्बन्धविच्छेदपछि महिलाहरूले भोग्ने सामाजिक चुनौतीबारे पनि उनले प्रश्न उठाएकी छन्। समाजले डिभोर्सी महिलालाई समान दृष्टिले नहेर्ने गुनासो गर्दै उनी भन्छिन्, “स्वतन्त्रता भन्दा बढी एक्लोपनको सजाय जस्तो लाग्छ।”

उनले अन्त्यमा सबै दिदीबहिनीलाई आग्रह गरेकी छन्—

रिसको क्षणमा ‘डिभोर्स’ जस्तो शब्द प्रयोग नगर्नुहोस्। सम्बन्ध जोगाउन धैर्य, माफी र समझदारी आवश्यक हुन्छ। साथै, माइती पक्षले पनि विवाहित छोरीको जीवनमा अनावश्यक हस्तक्षेप नगरी संयमता अपनाउनुपर्ने सन्देश दिएकी छन्।

 

उनको अनुभवले आवेगमा लिइने निर्णयले जीवनभर असर पार्न सक्छ भन्ने यथार्थ उजागर गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।