रुपन्देही–२ मा डा निकोलष भुषालको स्वतन्त्र उम्मेदवारी फिर्ता रास्वपालाई समर्थन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 

रुपन्देही–२ मा डा निकोलष भुषालको स्वतन्त्र उम्मेदवारी फिर्ता रास्वपालाई समर्थन 

डा. निकोलस भुसालद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उम्मेदवार सुलभ खरेललाई समर्थन

रुपन्देही, फागुन १८ — रुपन्देही–२ का स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसालले आफ्नो उम्मेदवारी औपचारिक रूपमा निष्क्रिय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेललाई पूर्ण समर्थन गर्ने घोषणा गरेका छन्।

 

उनले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा देशको राजनीतिक अवस्था, पुराना शक्तिको दोहोरिएको वर्चस्व र अपेक्षित परिवर्तनको अभावलाई ध्यानमा राख्दै यो निर्णय लिएको बताएका छन्। “मैले जित्नु भन्दा ठूलो कुरा देशले जित्नु हो,” उनले उल्लेख गर्दै व्यक्तिगत महत्वाकांक्षा भन्दा राष्ट्रिय हितलाई प्राथमिकतामा राखेको स्पष्ट पारे।

 

डा. भुसालले जेन–जी पुस्ताले उठाएका पारदर्शिता, जवाफदेहिता, सुशासन र प्रणालीगत सुधारका मागहरूलाई केन्द्रमा राखेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए। तर नयाँ शक्तिहरूबीच विभाजन हुँदा पुरानै शक्ति पुनः स्थापित हुने सम्भावना देखिएको भन्दै उनले वैकल्पिक शक्तिलाई सशक्त बनाउन सहकार्यको बाटो रोजेको बताए।

 

उनका अनुसार सुलभ खरेलले आफ्ना प्रमुख एजेण्डाहरू—प्रदेश सरकार खारेजी, शिक्षा र स्वास्थ्य निःशुल्क बनाउने, पारदर्शी तथा डिजिटल शासन प्रणाली लागू गर्ने, युवा उद्यमशीलता प्रवर्द्धन, संरचनागत सुधार तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति—कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यसै आधारमा उनले आफ्ना राजनीतिक तथा नैतिक जिम्मेवारी खरेललाई सुम्पिएको जनाएका छन्।

 

डा. भुसालले आफ्ना समर्थक, शुभेच्छुक तथा मतदातालाई निर्णयलाई सकारात्मक रूपमा ग्रहण गरी वैकल्पिक राजनीतिक शक्तिलाई सुदृढ बनाउन सक्रिय सहभागिता जनाउन अपिल गरेका छन्। साथै, साथ र समर्थनका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि जनताको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता दोहोर्‍याएका छन्।

 

उनको यो कदमलाई रुपन्देही–२ मा नयाँ राजनीतिक समीकरणका रूपमा हेरिएको छ। अब उक्त क्षेत्रमा रास्वपाका उम्मेदवार सुलभ खरेलको चुनावी अभियान थप सशक्त हुने आकलन गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।