रवीन्द्र मिश्र दलीय राजनीतिबाट विदा, स्वतन्त्र रूपमा सक्रिय रहने घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रवीन्द्र मिश्र दलीय राजनीतिबाट विदा, स्वतन्त्र रूपमा सक्रिय रहने घोषणा

काठमाडौं, फागुन २३ —राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिने घोषणा गरेका छन्। आज  एक प्रेस विज्ञप्ति जारी गर्दै उनले आफूले लामो सोचविचारपछि यस्तो निर्णय लिएको बताएका हुन्।

 

पूर्व वरिष्ठ उपाध्यक्षसमेत रहेका मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र रहँदा राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेको जनमतलाई प्रभावकारी रूपमा संगठित गर्न नसकिएको स्वीकार गरेका छन्। त्यसका लागि पार्टी नेतृत्वसँगै आफू पनि जिम्मेवार रहेको उनले उल्लेख गरेका छन्।

 

प्रेस विज्ञप्तिमा मिश्रले बदलिँदो भूराजनीतिक परिस्थिति र देशभित्रको कमजोर बन्दै गएको अवस्थाबीच भावी पुस्ताका लागि देशलाई सुरक्षित र सबल बनाउन नयाँ समझदारी तथा संरचनागत पुनरावलोकन आवश्यक रहेको बताएका छन्। “विचारभन्दा माथि देश र देशका लागि नरेश” भन्ने मान्यतामा आफू दृढ रहेको उनले स्पष्ट पारेका छन्।

 

यसै सन्दर्भमा उनले दुई महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन्। पहिलो, तत्काल प्रभाव लागू हुने गरी पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन्। दोस्रो, राजसंस्था पुनर्स्थापना, सुशासन र राष्ट्रिय मुद्दाहरूमा आफ्नो अडान यथावत रहने र अब केही समय स्वतन्त्र रूपमा आफ्ना विचारहरू व्यक्त गर्दै जाने बताएका छन्।

 

मिश्रले आफ्नो करिब ९ वर्षको राजनीतिक यात्रामा इमानदारीपूर्वक देशको राजनीतिक तथा राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेको बताए। तर ती प्रयासहरू अझै पर्याप्त नभएको उनले स्वीकार गरेका छन्।

 

उनले आगामी दिनमा व्यक्तिगत स्वार्थभन्दा देशलाई माथि राखेर मात्रै काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। साथै, आफ्नो राजनीतिक यात्रामा देश–विदेशमा रहेका नेपाली नागरिक तथा पार्टीका नेता–कार्यकर्ताबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेका छन्।

 

यसैबीच मिश्रले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी लाई बधाई तथा शुभकामना पनि दिएका छन्। नेपाली राजनीति एकोहोरो दिशामा नदौडियोस् भन्ने कामना व्यक्त गर्दै उनले देशको हितलाई केन्द्रमा राखेर राजनीतिक अभ्यास अघि बढ्नुपर्ने धारणा राखेका छन्।

 

प्रेस विज्ञप्तिको अन्त्यमा उनले “पृथ्वीपथको जय होस्, नेपालको जय होस्” भन्दै देशप्रति आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।