साठी-सत्तरी वर्षअघि कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालयको लागि यति ठूलो क्षेत्र छुट्याउने परिकल्पना कसरी आयो होला?।प्रकाश कॅुवर॥

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

साठी-सत्तरी वर्षअघि कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालयको लागि यति ठूलो क्षेत्र छुट्याउने परिकल्पना कसरी आयो होला? त्यति बेला यो निर्णय गर्नेहरूको सोच र भविष्यप्रतिको दृष्टि कति गहिरो थियो भन्ने आज बुझ्न सकिन्छ। दरबार क्षेत्रभन्दा ठूलो विश्वविद्यालय क्षेत्र राख्ने योजना उनीहरूको दूरदृष्टिको प्रमाण हो। उनीहरूले विश्वविद्यालयलाई 'भवन मात्र' नभई ज्ञान र अनुसन्धानको केन्द्रका रूपमा बुझेका थिए। आज, त्यो सोचले खेलकुदको क्षेत्रमा अलिकति भए पनि हाम्रो प्रतिष्ठा जोगाएको छ।

तर, विडम्बना छ कि, समयसँगै हाम्रो दृष्टिकोण साँघुरो बन्दै गयो। चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला समेत विश्वविद्यालयको कृषि अनुसन्धानका लागि छुट्याइएको जमिन मासेर बनाइएको छ। दशरथ रङ्गशाला जस्तो पूर्वाधार नभएको भए खेलकुदको स्थिति के हुन्थ्यो?

पचास वर्षअघि बनेका सरकारी विद्यालय र कलेजहरूलाई हेर्दा, भवन साना थिए, तर ठूला चौर र रुखहरू थिए। खेलकुदका लागि ठाउँ थियो, परेडको अभ्यासका लागि चौर थियो। युरोपमा जस्तो विद्यालयसँग चौर थियो, त्यो चौर आज पनि उनीहरूमा छ। तर हामीले ती चौर र रुखहरू क्रमशः मास्यौं। व्यापारिक प्रयोजनका लागि ठाउँ कब्जा गर्‍यौं। आजका विद्यालयहरू न रुखहरू छन्, न खुला ठाउँ।

महेन्द्र संस्कृत विश्वविद्यालयको उदाहरण लिनुस्। सुरुमा १४ सय बिघा जग्गा थियो। मानिसहरूले दान दिएका थिए। आज ४ सय बिघा पनि बाँकी छैन। माओवादी आन्दोलनका क्रममा कब्जा भएको यो जग्गा आज राजनीतिक दलहरूको मतदाता थलो बनेको छ। कीर्तिपुरकै त्रिभुवन विश्वविद्यालयको जग्गा पनि मिचिएको छ। प्रजातन्त्र आएपछि सरकारी विद्यालय वा कलेजका लागि नयाँ जमिन थपिएको उदाहरण लगभग छैन। तर, मासिएका उदाहरण धेरै छन्।

हामीले हाम्रा सार्वजनिक ठाउँहरू मास्दै गयौं। खुला ठाउँ, गौचरन, टुँडिखेल, भृकुटी मण्डप, खोला किनार—सबै कब्जा भए। यता बेलायतमा बकिङ्घम प्यालेसका पार्कहरू निःशुल्क घुम्न पाइन्छ, तर हाम्रो नारायणहिटी दरबार छिर्न पनि शुल्क लाग्छ। काठमाडौँमा ठूलो कन्सर्ट वा कार्यक्रम गर्न पनि ठाउँ छैन।

निजी विद्यालय र कलेजहरूले भवन निर्माण गरे, तर न खेल्ने ठाउँ, न खुला स्थान। सरकारले खुला ठाउँबारे नीति बनाएको भएपनि स्थिति यति दयनीय हुने थिएन। आज नयाँ विश्वविद्यालय खोल्नुपर्‍यो भने चार बिघा जग्गा छुट्याउने सोच पनि आउँदैन। तल व्यापार, माथि विश्वविद्यालय!

यद्यपि, आजको क्रिकेट उत्सवले केही राहत दिएको छ। हिजो सपनाजस्तो लाग्ने कुरा आज यथार्थ बनेको छ। विश्वका उत्कृष्ट खेलाडीहरू नेपालमै खेलिरहेका छन्। उनीहरूलाई हामीले तलब दिइरहेका छौं। हिजोका सपना पूरा भएको देख्दा रोमाञ्चक लाग्छ।

तर, के सोच्नुपर्छ भने, देशभर तीनवटा मात्र पनि आधुनिक स्टेडियम भएको भए यो क्रिकेट उत्सव र अर्थतन्त्रको प्रभाव कस्तो हुन्थ्यो? हाम्रो पुस्ता निर्णय लिन र काम गर्नमा धेरै अकर्मण्य रह्यो। तर, अबको पुस्ताले सिर्जनशील र उत्तरदायी बन्नुपर्छ।

यस क्रिकेट उत्सवले सबैलाई प्रेरित गरोस्। शुभकामना!

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।