सावित्रा भण्डारी (सम्बा) द्वारा सहयोग रोक्न आग्रह, उपचारका लागि एक करोडभन्दा बढी संकलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 

सावित्रा भण्डारी (सम्बा) द्वारा सहयोग रोक्न आग्रह, उपचारका लागि एक करोडभन्दा बढी संकलन

काठमान्डौ ,फाल्गुन १२,राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी (सम्बा) ले आफ्नो उपचारका लागि देश–विदेशबाट प्राप्त अभूतपूर्व सहयोगप्रति आभार व्यक्त गर्दै अब सहयोग रकम संकलन रोक्न आग्रह गरेकी छन्।

पछिल्लो २४ घण्टामा मात्र उनको उपचार सहयोगार्थ नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी तथा विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख रुपैयाँ (झण्डै ५२ हजार न्युजिल्यान्ड डलर) संकलन भएको उनले जानकारी दिइन्। विभिन्न संघ–संस्था, प्रायोजक र विदेशमा रहेका नेपाली समुदायले समेत नगद तथा सुविधा सहयोगको प्रतिबद्धता जनाएका छन्। कतारमा उपचारका क्रममा लाग्ने आवास र यातायात व्यवस्थासमेत जुट्ने अवस्था बनेपछि उनले दुवै खातामा थप सहयोग नगर्न अनुरोध गरेकी हुन्।

हाल चोटका कारण मैदानबाहिर रहेकी भण्डारीले समर्थकहरूको माया, विश्वास र साथले आफूलाई मानसिक रूपमा बलियो बनाएको बताएकी छन्। “खेल जीवनमा सबैभन्दा ठूलो कमाइ उपाधि वा पैसा होइन, समर्थकहरूको माया र भरोसा रहेछ,” उनले सन्देशमार्फत उल्लेख गरेकी छन्।

उनले आवद्ध क्लब Wellington Phoenix ले शल्यक्रिया र पुनर्स्थापनाका लागि बीमा रकम निकासा गरी थप सहयोगसमेत गरिरहेको जानकारी दिइन्। चाँडै शल्यक्रियाको मिति तय भएर उपचार प्रक्रिया अघि बढ्नेमा उनी विश्वस्त छिन्।

चोटले शारीरिक मात्र नभई मानसिक रूपमा पनि थकित बनाएको स्वीकार्दै उनले समर्थकहरूको साथले पुनः उभिने साहस दिएको बताइन्। दृढ संकल्प व्यक्त गर्दै उनले अझ मजबुत भएर फर्कने र पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिने प्रतिबद्धता जनाएकी छन्।

“मेरो साँचो धन्यवाद भनेको पुनरागमन हुनेछ,” उनले उल्लेख गरेकी छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।