योगी नरहरिनाथ: राष्ट्र, धर्म र इतिहासका अनवरत साधक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, फागुन १७ — आज राष्ट्रगुरु योगी नरहरिनाथको अवतरण दिवस विविध कार्यक्रमका साथ स्मरण गरिएको छ। विक्रम संवत् १९७१ साल फागुन १७ गते कलिकोटमा पिता ललितसिंह थापा र माता गौरादेवीको कोखबाट जन्मिएका वलवीरसिंह थापा नै पछि नाथ परम्परामा दीक्षित भई योगी नरहरिनाथका रूपमा परिचित हुनुभयो।

धर्म, दर्शन, इतिहास, समाजशास्त्र, भाषा, आयुर्वेद र साहित्य जस्ता विविध क्षेत्रमा अद्वितीय विद्वत्ता प्रदर्शन गर्नुभएका योगी नरहरिनाथले वैदिक वाङ्मयको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिनुभयो। उहाँको जीवन राष्ट्र, राष्ट्रियता र सनातन संस्कृतिको जगेर्नामा समर्पित रह्यो।

संयुक्त राष्ट्रसंघ प्रवेशमा योगदान-

नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न उहाँले खेलेको भूमिका पनि उल्लेखनीय मानिन्छ। तत्कालीन राजा महेन्द्रको समयमा नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्यता दिलाउन आवश्यक ऐतिहासिक प्रमाण संकलन र प्रस्तुतीकरणमा उहाँको बौद्धिक योगदान रहेको बताइन्छ।

त्यसैगरी, संस्कृत शिक्षाको विस्तारमा उहाँले अलख जगाउँदै दाङमा महेन्द्र संस्कृत विश्वविद्यालय स्थापना गर्न प्रेरक भूमिका निर्वाह गर्नुभयो। शैवागमको अनुसन्धान तथा धर्मजागरणका लागि देश–विदेशका १२९ स्थानमा कोटिहोम सम्पन्न गरिनु उहाँको सक्रियता र समर्पणको उदाहरण हो।

विशाल ग्रन्थरचना र वंशावली संकलन-

योगी नरहरिनाथद्वारा प्रकाशित ग्रन्थहरूको संख्या ५ सय ७१ पुगेको उल्लेख पाइन्छ भने झण्डै दुई हजार पाण्डुलिपि अझै अप्रकाशित अवस्थामा रहेको जानकारी छ।

उहाँले नाथ परम्परा, सिद्ध–सन्तहरूको जीवनी, वंशावली, ऐतिहासिक सन्धिपत्र, शिलालेख, ताम्रपत्र आदिको व्यापक संकलन गर्नुभयो। ‘इतिहासप्रकाश’, ‘हाम्रो देशदर्शन’, ‘आध्यात्मिक नेपाल’, ‘गोर्खा सैनिक इतिहास’ लगायतका कृतिहरूले नेपालको ऐतिहासिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेका छन्।

उहाँले विभिन्न समुदाय, जाति र गोत्रका वंशावलीहरू संकलन गरी प्रकाशन गर्नुभएको कार्यलाई सांस्कृतिक दस्तावेजीकरणको दृष्टिले ऐतिहासिक मानिन्छ।

विचार र दर्शन-

योगी नरहरिनाथले राष्ट्र र इतिहासलाई एकअर्कासँग अभिन्न रूपमा जोडेर हेर्नुभएको थियो। उहाँको भनाइ थियो,

“इतिहास नै राष्ट्रको जीवन हो। इतिहास र भूगोल राष्ट्रका दुई दृष्टि हुन्। भूगोल छैन भने राष्ट्र अन्धो हुन्छ, र इतिहास छैन भने दुवै आँखाले दृष्टिविहीन धृतराष्ट्र बन्छ।”

उहाँले विदेशी हस्तक्षेप र सांस्कृतिक विचलनप्रति सचेत रहन आग्रह गर्दै स्वधर्म, स्वसंस्कृति र स्वाभिमानको संरक्षणमा जोड दिनुभएको पाइन्छ।

ब्रह्मलीन-

वि.सं. २०५९ साल फागुन १३ गते, पशुपतिको मृगस्थलीमा उहाँ ब्रह्मलीन हुनुभयो। आज पनि उहाँको योगदान राष्ट्र, धर्म र इतिहासप्रेमीहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

अवतरण दिवसका अवसरमा विभिन्न स्थानमा श्रद्धाञ्जली अर्पण गर्दै उहाँका कृतिहरू अध्ययन–मनन गर्नुपर्ने आवश्यकता वक्ताहरूले औंल्याएका छन्। राष्ट्रगुरु योगी नरहरिनाथको जीवन–साधना नेपाली समाजका लागि मार्गदर्शक प्रकाशस्तम्भका रूपमा स्मरणीय रहने विश्वास गरिएको छ।

आदेश! आदेश!! आदेश!!!

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।