https://prithbipath.com/news-details/aaj-jetth-30-raajaa-mhendrko-105-aun-jnm-jyntii/

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

आज जेठ ३० राजा महेन्द्रको १०५ ‌औं जन्म जयन्ती 

राजा महेन्द्रले लामो समय राज्य चलाउन पाएनन् । २०११ फागुन ३० गते राजा त्रिभुवनको देहावसान पछि युवराज महेन्द्र राजा भएका थिए । राजा महेन्द्रको जन्म आषाढ कृष्ण पक्ष नवमीको दिन बिसं १९७७ जेठ ३० गते शुक्रवार भएको थियो । त्यो समय राजा को थिए भन्दा पनि श्री ३ महाराजा को थिए भन्ने महत्वपूर्ण हुने समय थियो । तसर्थ महाराजा श्री ३ चन्द्रशम्शेरको प्रभुत्व रहेको समय थियो । त्रिभुवनका दुबै रानीहरु भारत सीतापुरबाट विवाह गरेर ल्याइएको हुँदा राणा परिवारसंग धेरै निकटता थिएन । 

राणाकालमा राजाहरु पनि त्यति स्वतन्त्र थिएनन् । राणाकालमा खोलिएका पाठशाला तथा दरवार हाइस्कुलमा राज परिवारका सदस्यहरुले अध्ययन गर्न पाएका थिएनन् । त्यसैले युवराज महेन्द्रको पनि दरवारमा नै शिक्षा दिक्षाको प्रबन्ध मिलाइएको थियो । दरवारिया शिक्षकको रुपमा किर्तिराज दलीले दरवारमै शिक्षा दिन थाले । साथै तुल्सीमान सिंह र मदनदेवले अंग्रेजी शिक्षा दिन थाले । अंग्रेजीका सुविख्यात कवि का कविताहरु पढाउन थालेका थिए । भवनाथ पाण्डेलाई नेपाली साहित्य र संस्कृत अध्यन गराउन लगाइयो । पण्डित दधिराम पनि दरवारमा पढाउन आइपुगे पछि दुबै मिलेर हितोपदेश, पञ्चतन्त्र तथा कालिदासको रघुवंश कण्ठस्थ बनाए । बिस्तारै संगीत तर्फ पनि रुचि देखाउन थाले पछि भुपालमानसिंहलाई शास्त्रिय संगीत सिकाउन लगाए । यसरी दरवार भित्रको सम्पूर्ण शिक्षाले सबै कुरामा पारंगत हुदै गए । 

घोडचढीमा सिपालु रहेका युवराजको लागी सानो घोडा नै राखिएको थियो । बिस्तारै युवराज जवान हुदै थियो । यता दरवारमा धाई तथा अन्य सेवाका लागि रुम्जाटारकी रम्बा गुरुङलाई राखिएको थियो । रम्बासंग भर्खर जवान हुदै गरेका अल्लारे उमेरका युवराजले गर्भवती बनाइदिए । दरवारले भ्रुण हत्या नगर्ने चलनले गर्दा बि.सं. १९९६ मा छोरा जन्मियो । रम्बाको नाम दरवारले गीता राखिदियो र ल्याइते सरहको अधिकार दियो । यसरी आमा छोरालाई सम्पूर्ण खर्चको ब्यबस्था दरवारले गराइदियो तर राजपरिवारको सदस्यको अधिकारबाट भने बञ्चित नै राखे । गीताबाट जन्मिएका छोरा रवीन्द्र बाबु जस्तै गीतकार एवं कवि भएर निस्किए । तर उनले पछि आमालाई भने हेरेनन् । दरवारले चार जना नोकर सहित वार्षिक खर्च र बस्नलाई बत्तिसपुतलीमा घर दिएको थियो । तर महेन्द्रको देहावसान पछि यो खर्चमा कटौती गरियो । 

यसरी दरवार भित्रकी सेविकासंग नै लसपस भेटिए पछि युवराजको विवाह ईन्द्र राज्य लक्ष्मीसंग बि.सं.१९९७ बैशाख २६ गते गराइ दिए । विवाहको दश वर्ष पछि दिल्ली पलायन हुनु केवल दुइ महिना अगाडी युवराज धिरेन्द्रको जन्मको समय अत्यधिक रक्तश्रावले गर्दा युवराज्ञी इन्द्रको देहावसान भयो । युवराज्ञी इन्द्रको देहावसान भएको दुइ वर्ष पछि २००९ मंसिर २५ गते कान्छी साली रञ्जना राणा (रत्न)संग विवाह युवराजले विवाह गरे । राजा त्रिभुवन यस विवाहको लागी मञ्जुर थिएनन् । जसले गर्दा युवराजले सुटुक्क नागार्जुन दरवारमा गएर रत्नसंग विवाह गरेका थिए । राजा त्रिभुवनको कडा निर्देशन तथा ६ बालबच्चाको भविष्यको लागी पनि विवाह अगाडी नै पाठेघर निकाल्न लगाइएको थियो भन्ने गरिन्छ । तर यसमा सत्यता थियो या थिएन जानकारी भएन । तर सत्य जे भए पनि सन्तान नपाउने शर्तमा नै रत्नले विवाह गरेको चर्चा त्यति बेला भएको थियो । हुन पनि युवराज्ञी रत्नले सबै सन्तानलाई आफ्नै सन्तान सरह हुर्काएका थिए ।

राजाको रुपमा महेन्द्रले खासै लामो समय शासन गर्न पाएनन् । पुरा १७ वर्ष पनि शासन गर्न पाएका थिएनन् । तर पनि छोटो अवधीमा पनि धेरै काम गरेर देखाएका थिए । शायद यो अवधीमा नेपालमा जुन किसिमको बिकासका पूर्वाधारहरु बने यसले पछि सम्म बिकासका लहरहरु नै चले । गाउँ गाउँमा पुगेर गाउँलेका झुप्रामा पुगेर उनिहरुको दुख सुन्ने परिपाती उनले शुरु गरेका थिए । जुन पछि राजा वीरेन्द्रले पनि नियमित गरे । राजा महेन्द्रको यदि २०२८ सालको माघमा देहावसान नभएको भए सोही वर्ष फागुन ७ मा बहुदलिय ब्यबस्थाको घोषणा गर्दै थिए भन्ने पनि सुनिएको थियो । कहाँसम्म सत्य हो थाहा भएन । 

राजगद्दी सम्हालेको ५ महिनामा नै २०१२ साउन १७ गते चीनसंग दौत्य सम्बन्ध कायम गरेर भारतको प्रभावलाई केही मत्थर गर्ने कोशिस गरेका थिए । एक वर्ष नबित्दै असोज २२ मा पहिलो पञ्चवर्षिय योजनाको घोषणा गरेका थिए । तथा केवल नौ महिना पुग्दा मंसिर २९ मा नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो । यसरी राजगद्दी सम्हालेको पहिलो साल नै दलहरु बिचको सामंजस्य बढाउने प्रयासको थालनी पनि गरिसकेका थिए । देशमा प्रजातन्त्र आगमन पछिको राजनैतिक घटनाक्रमलाई राम्ररी नियाल्ने हो भने त्यसबेलाका राजनैतिक दलहरु सक्षम भइनसकेको आभास हुन्छ । यस बिच मातृकाप्रसाद कोइराला दुइ पटक प्रधानमन्त्री बने तर अन्य प्रधानमन्त्रीहरु लामो समय टिक्न सकेनन् वा भनौ टिक्न दिएनन् । 

२०१३ बैशाख २० गते भएको राजा महेन्द्रको शुभराज्याभिषेक नेपालमा विश्वका प्रमुख कुटनयिकहरुको पहिलो जमघट हो । यस शुभराज्याभिषेक समारोहले नेपाललाई विश्वभर चिनाउन मद्दत गरेको थियो । यस समारोहमा पहिलो पटक नेपालले विश्वभरका राजनयिकहरुलाई बिशेष किसिमले स्वागत तथा सत्कार गर्ने अवसर पाएको थियो ।

देशमा प्रजातान्त्रिक सरकार बने पछि राजा लामो बिदेश भ्रमणमा निस्केका थिए । विश्व राजनितीलाई नजिकबाट नियालेर फर्केका राजाले राष्ट्रिय आमचुनावबाट बनेको बिपी सरकारलाई पनि अपदस्थ गरिदिए । देशमा रहेका राजनैतिक आस्था भएकाहरुको सधै यहि गुनासो रहने गर्दछ, "किन राजाले जननिर्वाचित सरकारलाई अपदस्थ गरिदिए" ।

देशका जनतासंग प्रत्यक्ष सम्वादको थालनी पश्चिम नेपालबाट गर्दा बाटो घाटोको अप्ठ्यारो महसुस गरि २०१८ मा पूर्व पश्चिम राजमार्गको उद्घाटन गर्न पाउँदा राजा सबैभन्दा बढी खुशी भएका थिए । हुन पनि यस राजमार्गको निर्माणले पूर्व देखि पश्चिमसम्मका नेपालीले आफ्नो देश सहजै चिन्न पाएका थिए ।

भनिन्छ त्रिभुवन विश्वविद्यालय बनाउने समयमा देशको ढुकुटीमा रकम अभाव हुँदा मुमा बडामहारानी कान्ती र इश्वरीको गहना बेचेका थिए । राजकाजको समय कतिपय कठोर निर्णयहरु पनि भए होलान । जसलाई केही वर्गले सहजै स्विकार गर्न सकेनन् । तर समग्रमा राजा महेन्द्रले चालेका कतिपय कदमहरु राजा वीरेन्द्रले अगाडि बढाउन सकेनन् । राजा वीरेन्द्र धेरै नरमवादी थिए तर राजा महेन्द्र समय अनुकुल बन्थे । कहिले कठोर कहिले नरम भएर आबश्यक कदम चाल्थे ।

धेरैले राजा महेन्द्रको २०१७ सालको कदमको आलोचना गर्दछन् । तर राजाले २-३ दिनको निर्णयले यो कदम चालेका थिएनन् । उनले प्रजातान्त्रिक सरकार बने देखि नै यस माथी गोप्य रुपमा कडा नजर राख्न थालेका थिए । साथै यसको बिकल्पको लागी लामो अध्ययन पनि गरिरहेका थिए । पञ्चायत शब्द संस्कृत शब्द हो र यसको ब्यबस्थाको शुरुवात धेरै पहिले देखी भारतका ग्रामिण क्षेत्रमा शुरु भएको थियो । गाउँका केही पञ्च भलाद्मीहरुको समुहले गाउँको सम्पूर्ण ब्यबस्था गर्दथे । उनिहरुमा आफ्नै कानुनी अधिकार हुने गर्दथ्यो । यसैबाट प्रभावित भएर महेन्द्रले बृहत्तर रुपमा राष्ट्रिय ब्यबस्थाको थालनी गरेका थिए । पञ्चायती ब्यबस्था वास्तवमा पूर्ण रुपमा जनतामुखी थियो । तर पछि यो पूर्णरुपमा राजामुखी हुन पुग्यो । जसले गर्दा यसका गुण भन्दा दोषहरु बढी बाहिरिन पुग्यो । पञ्च भलाद्मी भन्ने शब्दमा कति आस्था र श्रद्धा थियो पछि पञ्चेको रुपमा बदनाम भयो ।

राजा महेन्द्रले आफ्नो छोटो शासनकालमा सबैभन्दा बढि मुलुकको भ्रमण गरेर कुटनैतिक फाइदा लिए । देशको बिकासको लागी बिभिन्न देशबाट सहयोग पाएका थिए । उद्योग कलकारखानाहरु खुलेका थिए । क्रमश बाटाहरुले पनि एक अर्को शहरलाई जोड्दै थियो । त्यति बेला ति उद्योग कल कारखानामा रहेका कर्मचारी तथा मजदूरहरु राष्ट्रमुखी सोच राख्ने थिए । तर अहिलेको तुलना गर्यो भने ब्यक्तीमुखी तथा दलमुखी हुन पुगे । जसले गर्दा सिमित ब्यक्ति त सम्पन्न भए तर समग्र देश सम्पन्न हुन सकेन । 
राजा महेन्द्रकै शासनकालमा राष्ट्रिय बैंकको रुपमा नेपाल राष्ट्र बैंकको स्थापना भएको थियो । सोही वर्ष देखि पञ्चवर्षिय योजनाको शुरुवात समेत भएको थियो । सोहि सालमा नै सर्वोच्च अदालतको समेत स्थापना गरिएको थियो । देशमा प्रजातन्त्र आए पछि भारत सरकारले धेरै किसिमको नियन्त्रण नेपाल माथि गर्न थालेको थियो । प्रशासनिक सुधारका नाममा भारतीय आयोग, सेनाको सुधारमा हस्तक्षेप, मन्त्रिपरिषदको बैठकमा समेत भारतीय प्रतिनिधिको उपस्थिति जस्ता कार्य भारत सरकारले गर्दै आएको थियो । यसमा पूर्ण रोक राजा महेन्द्रको शासनकालमा नै भयो । 

राजा महेन्द्रले देशको बिकास बिकेन्द्रिकरणबाट हुने बुझेर २०१८ सालमा भूगोलविद हर्क गुरूङको सुझावमा १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरेका थिए । यस अगाडि नेपालमा ३५ जिल्ला मात्र थियो । यसरी गरिएको विभाजनलाई अझ परिष्कृत गर्दै राजा विरेन्द्रले २०२९ सालमा चार बिकास क्षेत्रमा विभाजन गरेका थिए ।

जबसम्म देशका दलहरु र दलका अगुवाहरु राष्ट्रमुखी हुदैनन् । केवल आफ्ना र दलको स्वार्थमा नै केन्द्रित रहन्छन् । देशले कुनै गतिशिल निकास पाउँदैन । तसर्थ अहिलेको देशको राजनैतिक परिस्थितीको निकासको लागी कुनै नयाँ कदम छिट्टै आओस भन्ने अपेक्षा गरौं । 

अन्तमा राजा महेन्द्रको १०५औं जन्मजयन्तीको उपलक्षमा हार्दिक श्रद्धाञ्जली ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।