कृषिमा आत्मनिर्भरता तर्फ युवाको अग्रसरता : ‘गोठालो मार्ट’ अभियान सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कृषिमा आत्मनिर्भरता तर्फ युवाको अग्रसरता : ‘गोठालो मार्ट’ अभियान सुरु

वैशाख १४ ,पोखरा 

“म कृषि गर्छु, विदेश जान्न” भन्ने नारालाई आत्मसात गर्दै नेपाली युवाहरूले देशमै रोजगारी र उद्यम सिर्जना गर्ने लक्ष्यसहित ‘गोठालो मार्ट’ नामक नयाँ डिजिटल अभियान सुरु गरेका छन्। नेपालमा डिजिटल अर्थतन्त्रको विस्तारसँगै स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने उद्देश्यले यो पहल अघि बढाइएको हो।

 

यस अभियानका मुख्य योजनाकार चर्चित अभियन्ता तथा समाजसेवी डा. निकोलश भुषाल रहेका छन्। उनले लामो समयदेखि विभिन्न सामाजिक तथा आर्थिक अभियानहरू सञ्चालन गर्दै आएका छन्। उनकै नेतृत्वमा सुरु गरिएको गोठालो मार्टले “Made in Nepal” अवधारणालाई सुदृढ बनाउने लक्ष्य लिएको छ।

 

गोठालो मार्टमार्फत युवाहरूलाई उत्पादन, व्यवस्थापन तथा बजार विस्तारमा सक्रिय बनाउँदै नेपाली उत्पादनलाई डिजिटल प्लेटफर्ममार्फत प्रवर्द्धन गर्ने योजना अघि सारिएको छ। यसले साना तथा मझौला उद्यमीलाई आफ्ना उत्पादन सहज रूपमा अनलाइनमार्फत बिक्री गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

 

अभियान अन्तर्गत देशका विभिन्न सहर तथा स्थानीय तहमा संकलन केन्द्र, वितरण केन्द्र, नर्सरी तथा कोल्ड स्टोर स्थापना गर्ने योजना रहेको छ। यसबाट कृषि उत्पादनको व्यवस्थित संकलन, भण्डारण तथा बजार व्यवस्थापन सहज हुने विश्वास गरिएको छ।

 

यसैक्रममा “गोठालो आत्मनिर्भर नेपाल महाअभियान” पनि सुरु गरिएको छ, जसअन्तर्गत विभिन्न स्थानमा समिति गठन गरी अभियानलाई देशव्यापी बनाउने कार्य भइरहेको छ। गोठालो मार्टले कृषि उत्पादनसँगै हस्तकला, कपडा, खाद्य सामग्री तथा सांस्कृतिक सामग्रीलाई एउटै डिजिटल प्लेटफर्ममा समेट्ने लक्ष्य लिएको छ।

 

गोठालो मार्टमा विक्रेता बन्ने प्रक्रिया समेत सरल बनाइएको छ। इच्छुक व्यवसायीले वेबसाइटमार्फत “Become a Seller” विकल्प प्रयोग गरी आवेदन दिन सक्नेछन्। आवेदन स्वीकृत भएपछि विक्रेताले आफ्नै अनलाइन पसल सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ।

 

समूहका सदस्य तथा हाल अष्ट्रेलियामा कार्यरत इन्जिनियर राजकुमार गौतमका अनुसार यो अभियान स्वदेश तथा विदेशमा रहेका नेपाली युवाहरूको सहकार्यमा सञ्चालन गरिएको हो। उनका अनुसार डा. निकोलश भुषालसँगै विजय पराजुली, गौरीराज जोशी, मनिष रेग्मी, पवन बम, पिया रत्न, प्रदीप खड्का, कबिर कफ्का लगायत युवाहरूको सक्रिय सहभागिता रहेको छ।

 

यस अभियानले विशेष रूपमा कृषिमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य राखेको छ। उत्पादन वृद्धि, उचित संकलन तथा भण्डारण र बजार पहुँच विस्तारमार्फत किसानलाई उचित मूल्य दिलाउने उद्देश्य लिइएको छ। साथै, विदेशमा रहेका नेपाली युवाहरूको सीप, प्रविधि र लगानीलाई कृषि क्षेत्रमा उपयोग गर्दै आधुनिक खेती प्रणाली विकास गर्ने योजना पनि अघि सारिएको छ।

 

गोठालो मार्टको यस पहलले आयातमा निर्भरता घटाउँदै स्वदेशमै उत्पादन वृद्धि गर्न सहयोग पुग्ने र नेपाललाई क्रमशः कृषिमा आत्मनिर्भर बनाउने विश्वास गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।