रास्वपा बाग्लुङ सभापतिमा पुनम प्रसाद शर्मा निर्विरोध निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रास्वपा बाग्लुङ सभापतिमा पुनम प्रसाद शर्मा निर्विरोध निर्वाचित

जेष्ठ २३ ,बाग्लुंग

, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाग्लुङको सभापतिमा समाजसेवी तथा सहकारी अभियन्ता पुनम प्रसाद शर्मा निर्विरोध निर्वाचित भएका छन्। लामो समयदेखि सामाजिक, आर्थिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका शर्मा पार्टीको जिल्ला नेतृत्वमा चयन भएपछि बाग्लुङमा नयाँ राजनीतिक बहस सुरु भएको छ।

 

बाग्लुङ नगरपालिका–५ स्थायी घर भई हाल बाग्लुङ नगरपालिका–३ मा बसोबास गर्दै आएका शर्मा विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिकामा रहँदै आएका छन्। उनी सुबिधा सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष हुन् र स्थापना कालदेखि हालसम्म संस्थाको नेतृत्व गरिरहेका छन्।

 

यसअघि शर्मा एनजीओ महासंघ बाग्लुङ शाखाका उपाध्यक्ष (२०६९–२०७२), नेपाल जेसिज बाग्लुङका विभिन्न पदाधिकारी (२००८–२०१४) तथा ४० औँ राष्ट्रिय जेसिज महाधिवेशनका स्मारिका संयोजक समेत रहिसकेका छन्।

 

सामाजिक सेवाप्रति समर्पित शर्माले नेपाल नेत्र ज्योति संघ बाग्लुङ शाखाको संयुक्त सचिव (२०५९–२०६३) र सचिव (२०६३–२०६७) को जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए। उनी नेपाल रेडक्रस सोसाइटी बाग्लुङ शाखा तथा नेपाल नेत्र ज्योति संघ बाग्लुङ शाखाका आजीवन सदस्य समेत हुन्।

 

व्यावसायिक क्षेत्रमा पनि उनको सक्रियता उल्लेखनीय छ। शर्मा बाग्लुङ उद्योग वाणिज्य संघका सदस्य, डिसिआरडिसी बाग्लुङका बोर्ड सदस्य तथा कोषाध्यक्ष, नेपाल राष्ट्रिय व्यापार संघको केन्द्रीय सदस्य (२०७४–२०७७) तथा बाग्लुङ इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.का अध्यक्ष को रूपमा कार्यरत छन्।

 

राजनीतिक क्षेत्रमा समेत उनको अनुभव रहेको छ। उनले २०७९ सालको स्थानीय तह निर्वाचनमा बाग्लुङ नगरपालिका–३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै ६१७ मत प्राप्त गरेका थिए। साथै २०७९ र २०८२ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

 

हाल रोटरी क्लब अफ बाग्लुङको २०२६/२७ कार्यकालका प्रेसिडेन्ट इलेक्ट समेत रहेका शर्माको नेतृत्वमा रास्वपा बाग्लुङलाई थप सशक्त, संगठित र जनमुखी बनाउने अपेक्षा गरिएको छ।

 

निर्विरोध निर्वाचित भएपछि शर्माले बाग्लुङका नागरिकको विश्वासलाई सम्मान गर्दै सुशासन, पारदर्शिता, युवाको सहभागिता र विकासमुखी राजनीतिक अभ्यासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीलाई जनताको आशा र भरोसाको केन्द्र बनाउने दिशामा सबैलाई साथ लिएर अघि बढ्ने बताएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।