डा. निकोलस भुसालको ‘गोठालो मार्ट’ : स्वदेशमै गरिखाने डिजिटल अभियान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

डा. निकोलस भुसालको ‘गोठालो मार्ट’ : स्वदेशमै गरिखाने डिजिटल अभियान

जेष्ठ ६ ,पोखरा 

नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ सामाजिक अभियन्ता डा. निकोलस भुसाल ले ‘गोठालो मार्ट’ तथा ‘गोठालो मोबाइल एप’ सार्वजनिक गरेका छन्। “नेपालकै खाऔं, नेपालमै रमाऔं” भन्ने मूल नारासहित सुरु गरिएको यो अभियानले नेपाली उत्पादनलाई डिजिटल माध्यममार्फत देशभरिका उपभोक्तासम्म पुर्‍याउने लक्ष्य राखेको छ।

 

डिजिटल प्रविधिको तीव्र विकाससँगै नेपाली मौलिक उत्पादनलाई आधुनिक बजारसँग जोड्ने उद्देश्यले ल्याइएको ‘गोठालो’ एपले स्थानीय कृषक, उद्यमी तथा घरेलु उत्पादकहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी बजारको पहुँच नपाएका गाउँघरका उत्पादनलाई एउटै डिजिटल प्लेटफर्ममा ल्याएर बिक्री–वितरण सहज बनाउने तयारी भइरहेको जनाइएको छ।

 

अभियानअन्तर्गत नेपालमै उत्पादित विभिन्न वस्तुहरू, जस्तै सिन्की, मस्यौरा, घरेलु हस्तकला, अर्गानिक कृषि उत्पादन लगायत सामग्रीहरू एपमा निःशुल्क रूपमा सूचीकरण गर्न सकिने व्यवस्था गरिएको छ। यसले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नुका साथै स्वदेशी वस्तुप्रति उपभोक्ताको आकर्षण बढाउने विश्वास लिइएको छ।

 

त्यस्तै, ‘गोठालो मार्ट’ केवल व्यापारिक प्लेटफर्ममा सीमित नभई प्रविधिमैत्री युवाहरूलाई देशमै उद्यम गर्न प्रेरित गर्ने अभियानका रूपमा समेत अगाडि बढाइएको छ। अहिले विभिन्न जिल्लाका युवा उद्यमीहरू डिजिटल सञ्जालमार्फत यस अभियानमा जोडिने क्रम बढिरहेको बताइएको छ।

 

यस अभियानको अर्को विशेषता भनेको बिचौलियाविहीन व्यापार प्रणाली हो। कृषक तथा स्थानीय उत्पादकका सामग्रीलाई सिधै उपभोक्ताको घरदैलोमा पुर्‍याउने लक्ष्यसहित ‘खेतदेखि उपभोक्तासम्म’ अवधारणामा काम भइरहेको छ।

 

यसअघि पनि आत्मनिर्भरता र सामाजिक रूपान्तरणका विभिन्न अभियानमा सक्रिय रहँदै आएका डा. भुसालको ‘डिजिटल गोठालो’ अवधारणाले नेपाली उत्पादनको बजार विस्तारमा नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ। विदेशी ब्रान्डको प्रभाव बढिरहेका बेला स्वदेशी उत्पादनलाई प्राथमिकता दिने यस्ता अभियानले नेपालको अर्थतन्त्र मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।