पार्टीभित्रै न्यायको खोजीमा सोम शर्मा : “९९३ मतदाताको सम्मानमाथि प्रहार भयो”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पार्टीभित्रै न्यायको खोजीमा सोम शर्मा : “९९३ मतदाताको सम्मानमाथि प्रहार भयो”

काठमाडौं, जेष्ठ १६  ।
राष्ट्रिय स्वतन्त्र पार्टी को गण्डकी प्रदेश भूगोलतर्फ केन्द्रीय सदस्य पदका उम्मेदवार सोम शर्माले आफ्नो नाम निर्वाचन परिणामबाट हटाइएको विषयलाई गम्भीर अन्याय र लोकतान्त्रिक मूल्यविरुद्धको कदम बताएका छन्। उनले यो घटनाले आफूलाई मात्र नभई आफूलाई विश्वास गरेर मत दिने ९९३ जना सदस्यहरूको सम्मानमाथि पनि ठेस पुगेको बताएका छन्।

विडम्बनापूर्ण संयोग उल्लेख गर्दै शर्माले भने,
“ठीक एक वर्षअघि आजकै दिन, हामी यही बनस्थलीस्थित पार्टी कार्यालयमा सभापति रबी लामीछाने  को न्यायका लागि हस्ताक्षर गर्न आएका थियौं। अन्यायविरुद्ध उभिनु नै हाम्रो राजनीतिक संस्कार हो भन्ने विश्वास थियो। तर आज, ठीक एक वर्षपछि, त्यही ठाउँमा म आफ्नै न्यायको याचना गर्न बाध्य भएको छु।”

शर्माका अनुसार, निर्वाचन प्रक्रियामा उनीमाथि यो पहिलो होइन, दोस्रो त्रुटि हो। प्रारम्भिक गणनामा उनलाई निर्वाचित सूचीमा समावेश नगरी कैफियतमा खाली राखिएको थियो। पछि निर्वाचन आयोगले त्यसलाई “प्राविधिक त्रुटि” भन्दै सच्याएको थियो। तर अहिले फेरि कुनै पूर्वसूचना वा औपचारिक जानकारीबिनै उनको नाम हटाइएको उनले बताएका छन्।

गण्डकी प्रदेश भूगोलतर्फ चौथो सर्वाधिक मत (९९३) प्राप्त गरेका शर्माले प्रश्न उठाएका छन्— प्रदेशबाट पाँच जना निर्वाचित हुने स्पष्ट व्यवस्था हुँदाहुँदै कुन विधि, कुन विधान र कुन आधारमा पाँचौं र छैटौं स्थानका उम्मेदवारलाई अगाडि ल्याइयो?

उनले पार्टी नेतृत्वसमक्ष पारदर्शी जवाफको माग गर्दै भने,“हामी अन्यायविरुद्ध सडकमा उत्रिने मानिस हौं। गोली, लाठी र दमनको सामना गर्दै पनि न्यायको पक्षमा उभिएका हौं। आज त्यही आन्दोलनको एक सिपाही आफ्नै पार्टीभित्र न्याय खोज्दै उभिनुपरेको छ।”

शर्माले पार्टी नेतृत्व, विशेषतः सभापति र शीर्ष नेतृत्वले आफ्नो आवाज सुनिदिने विश्वास व्यक्त गरेका छन्।
“मलाई अझै विश्वास छ— सत्यको जित हुन्छ, न्याय मर्दैन, र मेरो पीडाको आवाज नेतृत्वसम्म अवश्य पुग्नेछ।”

उनले अर्को गम्भीर प्रश्न पनि उठाएका छन्— यस्तो महत्वपूर्ण निर्णयबारे आफूलाई आधिकारिक रूपमा जानकारी नदिइएको।
उनका अनुसार, नाम हटाइएको सूचना सामाजिक सञ्जालमार्फत मात्र थाहा भएको थियो।

 

“एक पटक सोध्ने वा जानकारी दिने आवश्यकसमेत ठानिएन। सामाजिक सञ्जालमा आएको विषयमा सामाजिक सञ्जालबाटै स्पष्टीकरण दिनुपर्ने अवस्था सिर्जना हुनु दुःखद हो,” शर्माले बताएका छन्।

 

राजनीतिक विश्लेषकहरूका अनुसार, पार्टीभित्र देखिएको यो विवाद केवल व्यक्तिगत असन्तुष्टि मात्र नभई आन्तरिक लोकतन्त्र, पारदर्शिता र संगठनात्मक विश्वसनीयताको परीक्षा समेत बनेको छ। अब पार्टी नेतृत्वले यस विषयलाई कसरी सम्बोधन गर्छ भन्ने कुरा चासोका साथ हेरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।