कबि रवीन्द्र मिश्रको ‘माथिको आदेश छ’ सार्वजनिक, प्रहरी हिरासतका ५० दिनमा लेखिएका ३५ कविता
कार्तिक १५,काठमान्डौ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष तथा लेखक रवीन्द्र मिश्रले प्रहरी हिरासतमा रहँदा लेखेका कविताहरूको संग्रह ‘माथिको आदेश छ’ सार्वजनिक गरेका छन्। शनिबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहमा मिश्रले जेन–जी युवाहरूसँग संयुक्त रूपमा पुस्तक लोकार्पण गरे। उनले ५० दिनको हिरासतमा बस्दा लेखेका ३५ वटा कविता यस संग्रहमा समावेश छन्। कार्यक्रममा मिश्रले ‘माथिको आदेश छ’ र ‘म राज्यविरुद्धको कसुर भएँ’ लगायतका कविता वाचन गर्दै आफ्नो हिरासतकालीन अनुभव पनि बाँडे। उनको पहिलो कवितासंग्रह ‘रवीन्द्र मिश्रका कविता’ २०७१ सालमा प्रकाशन भएको थियो।
“नेपालमा हिरासतमा बसेर आत्मसंस्मरण वा दैनिकी लेखिएका छन्, तर यसरी कविता लेखिएको सुनेको थिइनँ,” उनले भने, “यो कवितासंग्रह मेरो जीवनको एउटा विशेष अनुभव हो ।
मिश्रका अनुसार, हिरासतमा रहँदा मनमा आएका तीव्र सोच र भावनात्मक अवस्थाले उनलाई कविताले भरिएको बनायो। उनले यी कवितालाई ‘हिरासतको म’ का आवाज र आवेगका रूप भनेका छन्। कवि मिश्रका भनाइअनुसार, कैदले उनलाई रोक्न सकेन, बरु कविता लेख्न प्रेरणा दियो।
कवि तथा गीतकार नवराज लम्सालले मिश्रको कविताबारे टिप्पणी गर्दै भने, “रवीन्द्र मिश्र कवि भएर कविता लेखिरहेका होइनन्, कवित्वले उनीमाथि अधिकार जमाएको छ। यी कवितामा गहिरो भावनात्मक प्रवाह र सूक्ष्म कथ्य छ।” लामो समय बीबीसी नेपाली सेवाका प्रमुखका रूपमा कार्य गरेका मिश्र पछिल्ला वर्षहरूमा राजनीतिमा सक्रिय छन्। उनले यसअघि रवीन्द्र मिश्रका कविता (२०७१), देशभक्त कि देशद्रोही , भुमध्य रेखा, खान पुगोस दिन पुगोस, बिचार भन्दा माथी देश जस्ता पुस्तक प्रकाशित गरेका छन्। नयाँ संग्रह ‘माथिको आदेश छ’ उनका हिरासतकालीन पीडा, आत्मसंघर्ष र विचारहरूको कवितामय अभिव्यक्ति हो।
रवीन्द्र मिश्र लामो समय बीबीसी नेपाली सेवाका प्रमुखका रूपमा कार्यरत थिए। पत्रकारिता छोडेपछि उनले राजनीति रोजे र साझा पार्टी स्थापना गरे। पछि उक्त मिश्र समुह राप्रपामा एकीकरण भएपछि उनी अहिले वरिष्ठ उपाध्यक्षका रूपमा क्रियाशील छन् ।