५५ वर्ष अगाडि नारायण गोपालले लेख्नुभएको त्यो पत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

५५ वर्ष अगाडि नारायण गोपालले लेख्नुभएको त्यो पत्र

बि.सं. १९९६ साल असोज १८ गते काठमाडौको किलागलमा जन्मनु भएका नारायण गाेपाल नेपालको सर्वाधिक चर्चित गायकमा पर्नुहुन्छ । बुबा आशागोपाल र आमा राममाया गुरुवाचार्यका नौ सन्तानमा वहाँ दोश्रो हुनुहुन्थ्यो । २०१६ सालमा एसएलसी पास गर्नुभएका नारायण गोपालको परिवार खानदानी तथा उच्च जातका हुँदा बुबा अलि कडाइ गर्नुहुन्थ्यो । बुबा शास्त्रीय संगीत प्रेमी भएको हुँदा छोराले पनि शास्त्रीय संगीतमा रुचि रहोस भन्ने चाहना गर्नुहुन्थ्यो । बुबाकै लहडमा शास्त्रीय संगीत अध्ययन गर्न बडोदा जानुभयो । बडोदामा संगीतमा गहिरिनु भन्दा चुरोटको लतले संगीतमा रुची घट्न थालेको थियो । 

उता दार्जिलिङ सुकियापाेखरीकी पेमाला नारायण गाेपालकाे अति नै प्रशंसक थिइन् । दुई बिच पत्राचार पनि भइसकेको थियो । नारायण गोपालले पेमाला केवल प्रशंसक मात्रै नरहेर आफूलाई प्रेम गर्न थालिसकेको पनि चाल पाइसकेका थिए । यसैले उनिसंग भेट्ने चाहना भित्रभित्र जागिसकेकाे थियाे । यहि बहानामा २०२१ सालमा नारायण गाेपाल बडाेदाबाट छुट्टीकाे माैका मिलाएर दार्जिलिङ आउनुभयाे । दार्जिलिङमा नगेन्द्र थापाकोमा पुग्नुभयो । नगेन्द्र थापाले नै पेमालासंग भेट गराइदिएका थिए । शुरुमा त पेमालाले नगेन्द्र थापालाई नै नारायण गोपाल ठानेका थिए । यो आभास पाएका नगेन्द्र थापाले नारायण गोपाललाई चिनाइदिए । यहि समय गोपाल योञ्जन पनि नजिक भए । २०२१ काे चैतमा दार्जिलिङको महाकांल डाॅडामा इश्वर बल्लभ, नगेन्द्र थापा, गम्भीर योञ्जन साक्षी रहेर मकलको आगोमा हात राख्दै गोपाल योञ्जनसंग मित लाउनु भएको थियो । 

मीत लगाए पछि वहाँहरुले मीतज्यू नाईटको कार्यक्रम काठमाडौँदेखि दार्जिलिङसम्म भव्य रुपमा सम्पन्न गर्नुभयो । आफ्ना प्रशंसक रहेकी पेमाला लामासंग २०२७ साल फागुनमा दार्जिलिङमा बिहे गर्नुभयो । बिहे पछि लामा बुहारीलाई लिएर बुबाआमा सामु जान हच्कनु भयो । जातपातमा कट्टर बुबा सामु जान आँट नआए पछि साथीहरूसंग कहाँ गएर बस्ने भन्नेमा छलफल भयो । भूपी शेरचनको सेतो दरवारमा कोठाहरु खाली थिए । त्यसैले उनैको अनुरोधमा वहाँ कै घरमा बस्ने गरि पोखरा पुग्नुभयो । पेमालाका लागि स्थानीय कन्या स्कुलमा पढाउने जागिरको तय पहिल्यै गरिसकेको थियो । यसर्थ पोखरा पुग्नासाथ पेमालाले स्थानीय कन्या स्कुलमा होम साइन्स बिषय पढाउन थाल्नुभयो । नारायण गोपाल भने केही दिन बेरोजगार  नै रहनुभयो । पछि अमरसिंह स्कुलमा संगीतको कक्षा थालनी गरेर संगीतको शिक्षकका रुपमा जागिरे हुनुभयो । पोखरामा नारायण गोपाल तथा पेमालाको दिन कठिनसंग बित्न थालेको थियो ।

पोखरा बसाइ क्रममा नै नारायण गोपालले बुबा आमालाई पत्र लेख्नुभयो । आमाबुबाको यादले सताएको तथा क्षमा माग्नुभएको थियो । ७-८ महिनाको बसाई पछि पोखरामा बस्न कठिन भएपछि काठमाडाै लाग्नुभयो । साथीहरुको सहयोगमा नारायण गोपालले नाचघरमा जागीर पाए भने पेमालाले भारतीय एउटा जीवन विमा कम्पनीमा जागीर पाइन् । 

विवाह पछि पेमाला गर्भवती भएकी थिइन् तर गर्भको बच्चादानी भन्दा बाहिर रहेको हुँदा डाक्टरले अप्रेसन गरेर बच्चा फेक्ने सल्लाह दिनुभयो । नारायण गोपालले पनि गर्भको बच्चा भन्दा पेमाला प्यारो भएको हुँदा बच्चा फेक्न मञ्जुरी दिनुभयो । त्यस अप्रेसन पछि पेमाला गर्भवती हुन सक्नुभएन । यसरी वहाँहरु निसन्तान हुनुभयो ।

जीवनको उतारचढाव पछि २०४७ मंसीर १९ गते वीर अस्पतालमा नारायण गोपालको स्वर्गारोहण भयो भने २०६१ सालमा पेमालाको पनि स्वर्गारोहण भयो ।

✍️सुनिल उलाक 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।