विजयादशमी (वडा दशैंको दशौं दिन) हिन्दू धर्मावलम्बीहरूको प्रमुख चाडहरूमध्ये एक हो । जसलाई दशैं पर्वको सबैभन्दा महत्वपूर्ण दिनको रूपमा मनाइन्छ। यो पर्व नेपाली समाजमा मात्र नभई भारतका विभिन्न राज्यहरूमा पनि धूमधामका साथ मनाइन्छ। विजयादशमी दुर्गा पूजाको १०औं दिनको समापन समय हो र आजको दिनलाई असत्यमाथि सत्यको विजय भएको भन्ने किमंबदन्ति पनि रहेको पाईन्छ ।
दशैं पर्वको धार्मिक ऐतिहासिक कथा अनुसार, देवी दुर्गाले नौ दिनसम्म महिषासुर र अन्य राक्षसहरू विरुद्ध युद्ध गरी दशौं दिन महिषासुरको वध गरेर संसारलाई अन्याय र अत्याचारबाट मुक्त गरिन्। यसलाई नै असत्यमाथि सत्यको विजयको रूपमा मनाइन्छ। साथै, रामायणमा लेखे अनुसार, आजकै दिन भगवान रामले रावणलाई पराजित गरेका थिए।
विशेष गरी विजयादशमीको दिन आफ्ना मान्यजनहरूबाट टीका, जमरा र आशीर्वाद लिने परम्परा छ। रीतो टीका देवी दुर्गाको प्रसादको रूपमा मानिन्छ भने जमरा हरियालीको प्रतीक मानिन्छ । घरपरिवारमा उमेरका आधारमा सबैजनालाई एकआपसमा टीका लगाइन्छ, र यो समय आफन्तजनहरूबीच भेटघाट र मेलमिलापको अवसर पनि हो।
यो पर्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा ठूलो महत्त्व राख्छ। आर्थिक गतिविधिहरू पनि दशैंको अवसरमा निकै चलायमान हुने गर्छन्, किनकि यो महान पर्वमा कुनैपनि शुभकार्य शुभ विवाह मिष्ठान्न भोजन तथा भेटघाटका लागि विभिन्न तयारीहरू हुने गर्दछन ।