आन्दोलनको जगमा बनेको सरकारविरुद्ध असन्तुष्टि चर्किँदै, डा. निकोलश भुषाल आमरण अनसनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

आन्दोलनको जगमा बनेको सरकारविरुद्ध असन्तुष्टि चर्किँदै, डा. निकोलश भुषाल आमरण अनसनमा

पौष ९-काठमाडौं । 
नागरिक आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारप्रति जनस्तरमा बढ्दो असन्तुष्टि देखिन थालेको छ। सरकारबाट अपेक्षित सुधार र न्यूनतम मागहरू समेत सम्बोधन नहुँदा जेन–जी पुस्तादेखि घाइते नागरिकसम्म सडकमा उत्रिएर धर्ना बस्न बाध्य भएको अवस्था देखिएको छ।

आन्दोलनका क्रममा सरकारले प्रहरी दमन गरेको आरोप लागिरहेका बेला सामाजिक अभियन्ता डा. निकोलश भुषाल हिजोदेखि आमरण अनसनमा बसेका छन्। उनले शुशिला कार्की सरकारले आन्दोलनका सहिद ,घाईते तथा जनभावना अनुरुप काम नगरेको भन्दै राज्यको दमनकारी प्रवृत्ति, दण्डहीनता र संरचनागत कमजोरीको विरोधस्वरूप अनसन थालेको बताएका छन्।

डा. भुषालले सार्वजनिक गरेका न्यूनतम मागहरूमा आन्दोलनका क्रममा निर्दोष नागरिकको ज्यान जाने घटनामा संलग्न दोषीमाथि तत्काल छानबिन र कडा कारबाही, आन्दोलनमा पक्राउ परेका जेन–जी युवाहरूको अविलम्ब रिहाइ, तथा उच्चस्तरीय भ्रष्टाचार प्रकरणहरूको निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही गर्नुपर्ने उल्लेख छ।

त्यसैगरी, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गर्न संविधान संशोधन गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था लागू गर्नुपर्ने, प्रदेश सभा र राष्ट्रिय सभा खारेज गर्नुपर्ने जस्ता संरचनागत सुधारका माग पनि अघि सारिएका छन्। साथै, वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने र ती मागहरू पूरा भएपछि मात्र निष्पक्ष तथा स्वतन्त्र निर्वाचनको वातावरण निर्माण गर्नुपर्ने उनको जोड छ।

आन्दोलनरत पक्षले सरकार नागरिक आवाजप्रति संवेदनशील नभएको आरोप लगाइरहेका छन् भने सरकारतर्फबाट औपचारिक प्रतिक्रिया भने अझै स्पष्ट रूपमा आएको छैन। बढ्दो असन्तुष्टि, आमरण अनसन र सडक आन्दोलनले मुलुकको राजनीतिक अवस्था र नजिकिदै गरेको संघिय निर्वाचनमा थप संकट पैदा हुन सक्ने संकेत देखिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।