बाँदर आतंकले रित्तियो गाँऊ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अर्घाखाँचीका ग्रामीण बस्तीका लागि बाँदर आतंक नौलो कुरा होइन । वर्षौंदेखि बाँदरका कारण यहाँका किसानले हैरानी बेहोर्दै आएका छन् । तर, पछिल्लो समय बाँदरकै कारण स्थानीय विस्थापित हुने सम्मको अवस्थामा पुगेका छन् । जिल्लाका सबै पालिकाबाट बसाँइसराइ हुने क्रम बढेकोे किसानको गुनासो छ । विस्थापित हुने अधिकांशको गुनासो भने बाँदर आतंक नै रहेको छ । मारेर र स्थायी बन्ध्याकरण गरेर बाँदर आतंक नियन्त्रण गर्न सकिने केही आधार भए पनि कानुन नबन्दा झन्झट रहेको उनीहरू बताउँछन् । अर्कोतर्फ यसको नियमन गर्ने निकायहरू नहुँदा र यसलाई कसरी धपाउन सकिन्छ ? भन्ने ठोस विधि नहुँदा अहिले ग्रामीण क्षेत्रका बस्तीहरू रित्तिँदै गइरहेका हुन् ।

पाणिनी गाउँपालिका-७ का तिलकराम घिमिरे भन्नुहुन्छ, ‘गाउँको बीचमा खेतबारी पर्ने घरको नजिक भएकोे खेती मात्र जोगिन्छ, अन्य स्थानको खेती जोगाउन नसकेर हैरान परिसक्यौँ, अब त बसाइँ सराइ गर्नुबाहेक विकल्प छैन ।’ सो वडामा सबैभन्दा बढि बाँदरले स्थानीय बासिन्दालाई पीडित गराउने गरेको छ । बिहान सबेरै ४ बजे उठेर बारीको छेउमा गएर बाँदर धपाउन उभिनुपर्ने र साँझ मात्र घर आउनुपर्ने बाध्यकारी अवस्था बाँदरले सिर्जना गरिसकेको छ । पहिलापहिला स्थानीयले बन्दुक पड्काएर बाँदर धपाउँथे । अहिले बन्दुक पड्काउन रोक लगाइएपछि बाँदर आतंक झनै मच्चिएको किसानले बताएका छन् ।

घरभित्र रहेको अन्नपात, फलफूल केही बाँकी नराखेर घरभित्रै पसेरसमेत खान थालेपछि स्थानीय हिम्मतबहादुर सुनार बसाइँ सरेर तराई पुग्नुभएको छ । यस्तै, शितगंगा नगरपालिकाका एकजना कृषक भन्नुहुन्छ, ‘बाँदर आतंकले गर्दा उत्पादन गर्नै नपाएपछि बाँच्ने विकल्प सकिँदा स्थानीयहरू बसाइँ सराइको बाटो समात्न बाध्य भएका छन् ।’

उत्पादन गर्न खोज्यो, फूल लाग्दै गर्दा बाँदरले बोट उखेल्न थाल्छन् अनि कसरी उत्पादन हुन्छ ? पाणिनी गाउँपालिका–७ का वडा अध्यक्ष गुनाखर अधिकारीले भन्नुभयो । बाँदरका कारण घरभन्दा टाढा रहेका धेरै रोपनी जग्गा गाउँलेहरूले खेती गर्न छाडेर बाँझो राखेका छन् । अधिकारीले भन्नुभयो, ‘कानुनले बाँदर मार्न पाइँदैन, बाँदरले हामीलाई बाँच्न दिएन ।’ सबै गाउँले मिलेर हेरालु राखेर बाँदर धपाउँदा पनि अभियान सफल हुन नसकेको उहाँको गुनासो छ ।

सन्धिखर्क नगरपालिका-६ का युवा समाजसेवी मनिराम आचार्य भन्नुहुन्छ, ‘बाँदरले नखाने भनेको जमिनमुनिको अदुवा र हलेदो हो सबैले त्यही बाली लगाउन पनि सकिँदैन अन्न नलगाएर के खाने ?’ उहाँले भन्नुभयो, ‘कफी खेतीमा बाँदरले क्षति नगर्ने रहेछ, तर पहिले हामीलाई यो कुरा थाहा भएन । अहिले कफी खेतीतर्फ किसानले ध्यान दिएका छैनन् ।’ स्थानीय सरकारले पनि कफी खेतीतर्फ खासै पहल गरेको छैन । खेतीपातीबाट उत्पादन गर्न नपाउनु वा कम हुँदै जानु लगायतका कारणले यहाँका बासिन्दा बसाइँ सराइसँगै विदेश पलायन पनि हुने गरेको उहाँको भनाइ छ ।

भूमिका स्थान नगरपालिकाका उपप्रमुख बालकृष्ण बन्जाडेले भने गाउँमा मानिसको जनघनत्व घटेका कारण बाँदरले सताएको दाबी गर्नुहुन्छ । बन्जाडे भन्नुहुन्छ, ‘हिजो गाउँभरी मानिस थिए, बाँदर थिएनन् । आज गाउँ खाली हुँदै छ, बाँदरको संख्या वृद्धि भएको छ र अन्नबाली बचाउनै मुस्किल भएको छ । गाउँमा जनसंख्या कम हुनु पनि बाँदरलगायत जंगली जनावर सलबलाउनु हो ।’

बाँदरका कारण अर्घाखाँचीका सबै पालिका समस्यामा छन् । पाणिनी गाउँपालिकामा पनि बाँदरको समस्या त्यस्तै छ । बाँदर आतंक राज्यकै समस्या बनेकाले यसको निकास निकाल्न स्थानीय सरकारले नसक्ने अवस्था रहेको गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेको भनाइ छ । पाणिनी गाउँपालिका–२ का अध्यक्ष चन्द्रकान्त पौडेल भन्नुहुन्छ, ‘वनजंगलमा खानेकुरा नपाएपछि बाँदर बस्तीमा पस्न सुरु गरेको र घरभित्र पसेर खानेकुरा खाने गरेको छ । युवा सहर पस्ने, वैदेशिक रोजगारमा जाने भएकाले यस्तो समस्या आएकाले गाउँपालिकाले भोटे कुकुर वितरण गरेको छ ।’ छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले आफ्नो क्षेत्रमा बाँदर प्रतिस्थापन गर्ने भन्दै बिगतदेखि केही बजेट छुट्याएको र यसले बाँदर आतंक केही हदसम्म न्यूनीकरण भएको भए पनि दीर्घकालीन हुन नसकेपछि बजेट छुट्याउन छोडिएको बताउनुभयो ।

बाँदरका र जंगली जनावरका कारण अर्घाखाँचीका ६ वटै स्थानीय तहका बासिन्दाहरू प्रभावित भएकाले पीडित किसानको मागअनुसार बजेट व्यवस्था गरेर बाँदर नियन्त्रणका लागि सबै गाउँपालिकामा बजेट व्यवस्थापन गर्न अनुरोध गरिएको जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला बताउनुहुन्छ । राज्यले नै यस बाँदरको सम्बन्धमा यसलाई धपाउने कार्यविधि बनाई लाग्नुपर्ने आवश्यक देखिन्छ । सबै पालिकाहरूले बजेट विनियोजन गरी आफ्नो पालिकाभित्रका बाँदर समातेर राष्ट्रिय निकुञ्जलगायत संरक्षित क्षेत्रमा लैजाने योजनाका लागि बजेट विनियोजन गरिएमा बाँदर समस्या समधान हुने समाजसेवी तुलसी पौडेल बताउनुहुन्छ । नेपालीको मुख्य पेसा नै कृषि भएकाले यसको व्यवसायीकरण आवश्यक रहेको तर बाँदरबाट बर्सेनि कृषि उपज नष्ट गर्ने गरेका कारण समस्या भएकाले यसको निकास जनप्रतिनिधिले निकाल्नुपर्ने पौडेलकोे भनाइ छ ।
थप सामग्री :

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।