भारत-पाकिस्तान तनाव चरम उत्कर्समा : पाकिस्तानले पाँच भारतीय लडाकु विमान खसालेको दाबी
वैशाख २३ इस्लामाबाद/नयाँ दिल्ली
दक्षिण एशियाको दुई परमाणु शक्तिशाली राष्ट्र भारत र पाकिस्तानबीचको तनाव फेरि चरममा पुगेको छ। पाकिस्तानले भारतबाट आक्रमणका लागि आएका पाँच लडाकु विमानहरू खसालेको दाबी गरेको छ। पाकिस्तानी सेनाको भनाइअनुसार खसालिएका विमानहरूमा तीन राफेल, एक मिग-२९, एक एसयू-३० र एक ड्रोन छन्।
पाकिस्तानी अधिकारीहरूका अनुसार गएराति भारतले पाकिस्तानको सीमावर्ती क्षेत्रमा मिसाइल हमला गरेको थियो, जसमा कम्तीमा ३० जनाको ज्यान गएको छ। भारतले यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन, तर सुरक्षा स्रोतहरूले पहलगाम आक्रमणपछि कडा कदम चालिएको संकेत दिएका छन्।
भारतले केही दिनअघि कश्मीरको पहलगाम क्षेत्रमा भएको आत्मघाती आक्रमणका लागि पाकिस्तान समर्थित आतङ्ककारी समूहहरूलाई दोष दिएको थियो। त्यसपछि सुरक्षाबलहरूले सीमा क्षेत्रमा व्यापक गतिविधि शुरू गरेका थिए।
पाकिस्तानका अनुसार उनीहरूले “आत्मरक्षा र क्षेत्रीय अखण्डताको संरक्षण” गर्नुपर्ने बाध्यता महसुस गरी जवाफी कारवाही गरेका हुन्। पाकिस्तानका रक्षामन्त्रीले एक प्रेस सम्मेलनमा भने, “हामी युद्ध चाहँदैनौं, तर हाम्रा नागरिकहरूको सुरक्षामा कुनै सम्झौता गर्नेछैनौं।”
दुबै देशका सीमा क्षेत्रमा सेनाहरू उच्च सतर्कतामा छन्, र नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न चेतावनी दिइएको छ। अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन र वार्ता गर्न आह्वान गरिरहेको छ।