बिमा रकमको लोभमा आँफै सकिए गहतराज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । पोखरामा बीमा रकम हत्याउने उधेश्यका साथ सञ्चालक आफैले आफ्नै पसलमा आगो लगाएको पाइएको छ ।पोखरा महानगरपालिका वडा नं. ६ नारेश्वरचोकस्थित मुक्तिनाथ सपिङ सेन्टरमा सञ्चालक आफैले आगो लगाएको भेटिएको हो   ।

अनुसन्धानको क्रममा बीमा रकम ठगी गर्ने उद्देश्यले सञ्चालक आफैले आगो लगाएको पाइएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ  । पक्राउ पर्नेमा पसल सञ्चालक पोखरा-१८ ड्यामसाइडका ३६ वर्षीय सुजन गहतराज र उनका साथी विरौटाका ४३ वर्षीय पवन नेपाल रहेका छन् ।

बुधबार  राति उक्त पसलमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको दावी गरिएको थियो । बीमा रकम ठगी गर्ने उद्देश्यले नै उनीहरु आफैले पसलमा आगो लगाएको विभिन्न प्रमाणले पुष्टि गरेको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । उनीहरुले उक्त पसल पवित्रा अधिकारीको नाममा सञ्चालन गर्दै आएका थिए ।

आगलागी लगत्तै सञ्चालकले पसलको बीमा नभएको बयान दिएका थिए । तर, प्रहरीले अनुसन्धानका क्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्सको पोखरा शाखामा २ करोड १० लाख बराबरको बीमा गरेको प्रमाण भेटेको हो । सुरुमा बीमा छैन भनेर बयान दिएका सञ्चालकले आगलागी भएको भोलिपल्टै बीमा रकम दावीका लागि निवेदन दिइएको पाइएको डीएसपी शर्माले बताए ।

सञ्चालकले इन्भर्टरको तार सर्ट भएर आगो लागेको भन्ने योजना बनाएपनि इन्भर्टर कम्पनीका प्रतिनिधि र  विद्युत प्राधिकरणसँग बुझेर प्रहरीले आगलागीबारे अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा पसल खासै नचलेको, सामान धेरै मात्रामा स्टक भएको र घरधनीसँग भाडालगायतका विषयमा विवाद रहेको खुलेपछि प्रहरीले सञ्चालकलाई नै शंकाको घेरामा राखेर अनुसन्धान गरेको थियो ।

बीमा गराएर आगलागी भए बीमा कम्पनीले रकम दिने गरेको र आफ्नो एक फार्ममा आगो लाग्दा ३० लाख रकम बीमाबाट प्राप्त गरेको  सञ्चालकका साथी पवन नेपालले बताएपछि पुर्व योजनाका साथ आगो लगाएको पाइएको डीएसपी शर्माले बताए ।

दुवै जनाले योजना मुताविक राति पसलमा आफैले सलाई कोरेर आगो लगाएको बयानका क्रममा स्वीकार गरेको डीएसपी शर्माले जानकारी दिए ।

घटनापछि पक्राउ परेका दुवैविरुद्ध आपराधिक उपद्रव शीर्षकमा मुद्दामा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।