ब्यवस्था नै परीवर्तन गर्छौं भन्ने राप्रपा लाई मंसीर १६ को उपनिर्वाचनमा किन पत्याएनन् जनताले ? -विजय परीजुली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले २०८४ सालभन्दा अघि नै राप्रपाले सरकारको नेतृत्व गर्न सक्ने घोषणा गरेको भोलिपल्ट नै अर्थात मंसीर १६ को उपनिर्वाचनमा सबै भन्दा कमजोर नतिजा प्राप्त गर्यो।हिजो मात्र पार्टिको एक कार्यक्रममा उनले जनता भ्रष्ट व्यवस्था र शासकबाट मुक्ति चाहन्छन् र हिन्दु राष्ट्र तथा राजसंस्थाप्रति जनताको आकर्षण बढ्दै गएको दाबी गरे। साथै, कांग्रेस र कम्युनिष्ट दलहरूको विकल्प खोज्न जनताले चासो देखाइरहेको बताए। तर, यथार्थमा राप्रपाको यो दाबी चुनावी नतिजामा परावर्तित हुन सकेन।अत्यन्तै निराशाजनक र लज्जास्पद नतिजा हासिल गरेको छ। विभिन्न क्षेत्रमा पार्टीका उम्मेदवारहरूले अत्यन्त कम मत ल्याउँदै धेरै स्थानमा पुछारतिर सीमित भएका छन भने कतिपय स्थानमा उम्मेदवारको जमानतसमेत जफत भयो।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्ला झापा, कन्काई नगरपालिका–६ मा वडा अध्यक्ष पदका लागि उम्मेदवार बनेका नारायणप्रसाद सिटौलाले जम्मा २६ मत मात्र प्राप्त गरे। यस्तै, ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा राप्रपाका उम्मेदवार चन्द्रमणि दाहालले ३ मत पाउँदै पाँचौँ स्थानमा रहे।

उदयपुरको त्रियुगा नगरपालिका–१२ मा पनि राप्रपाको प्रदर्शन कमजोर रह्यो। यहाँका उम्मेदवार लालबाबु साह १७ मत ल्याउँदै कुल ९ उम्मेदवारमध्ये आठौँ स्थानमा सीमित भए।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मा राप्रपाका सतिश कुमार चौधरी थारुले १६५ मत प्राप्त गरे भने कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ मा उम्मेदवार इनताज अहमद धोवीले ६६ मतका साथ सातौँ स्थानमा चित्त बुझाउनुपर्‍यो।

यस्तै, रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा पहल बहादुर वलीले जम्मा १० मत ल्याए भने बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा रत्नले ५२ मत मात्र प्राप्त गरे र पाँचौँ स्थानमा सीमित भए।

जाजरकोटको कुसे गाउँपालिका–७ मा राप्रपाका लालबहादुर खत्री ८ मत ल्याउँदै चार उम्मेदवारमध्ये सबैभन्दा पुछारमा रहे।

दैलेखको दुल्लु नगरपालिका–१३ मा उम्मेदवार रेशम बहादुर मल्लले १३ मत प्राप्त गर्दै पाँचौँ स्थानमा रहे भने महाबु गाउँपालिकाका उम्मेदवार सुर्जे रावतले ४७ मतका साथ छैटौँ स्थानमा चित्त बुझाउनुपर्‍यो।

यी सबै नतिजाहरूले राप्रपाले जनताको मत जित्न असफल भएको स्पष्ट देखाउँछ। अध्यक्षको गृहजिल्लादेखि देशका विभिन्न भागमा अत्यन्तै कम मत प्राप्त गर्नुलाई पार्टीको संगठनात्मक कमजोरी, रणनीतिक योजना अभाव, र स्थानीय जनताको प्राथमिकतासँग तालमेल नहुँदा आएको परिणामको रूपमा लिन सकिन्छ। जनताको विश्वास जित्न र प्रभावशाली रूपमा प्रतिस्पर्धा गर्न राप्रपाले अझै धेरै सुधार गर्नुपर्ने देखिन्छ।
 
हिन्दू राष्ट्र र राजसंस्थाको मुद्दालाई प्राथमिकता दिँदै आएको यो पार्टीले यी विषयहरूमा जनताको ठूलो हिस्सा आकर्षित गर्न नसकेको देखियो। जनताले  कांग्रेस र कम्युनिष्ट  विकल्प खोजिरहेको भनिए तापनि  ठूला दलहरूसँगको तुलनामा राप्रपाको संगठनात्मक क्षमता कमजोर रह्यो।

चुनावमा नेपाली कांग्रेसले सबैभन्दा प्रभावशाली प्रदर्शन गर्दै १६ वडाध्यक्ष पद जित्यो। कांग्रेसले जितेका अधिकांश स्थानहरूमा यसअघि नै रिक्तता थियो। कांग्रेसले १९ वडाध्यक्ष पदमा जिते पनि केही महत्वपूर्ण पदहरू, जस्तै २ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष, र १ उपमेयर गुमायो।

त्यसैगरी, अन्य दलहरूले पनि आंशिक सफलता हात पारे। जसपाले २ वडाध्यक्ष जित्यो भने नेकपा (एस), रास्वपा, र नेपाल मजदूर किसान पार्टीले १-१ वडाध्यक्ष जिते। एक वडाध्यक्ष पद स्वतन्त्र उम्मेदवारले जितेको नतिजाले विविधता देखायो।

 ठूला दलहरूप्रतिको जनताको विश्वास अझै कायमै रहेको  पुष्टि गर्दछ। यस्तै, साना दलहरूको सीमित संगठनात्मक प्रभाव, ठूला दलहरूसँग प्रतिस्पर्धा गर्ने क्षमताको अभाव, र जनताको प्राथमिकतासँग सँगै नचल्ने नीति तथा रणनीतिले यो पराजयलाई झन् गहिरो बनायो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।