इशान शर्माको मृत्यु प्रकरण : एक महिनासम्म पनि हत्यारा पत्ता नलाग्दा परिवारको आक्रोश
पौष ३० बुधवार
कञ्चन गाउँपालिका–धौलागिरी पथ निवासी १७ वर्षीय इशान शर्माको मृत्यु भएको एक महिना बितिसक्दा पनि घटनाको यथार्थ खुल्न सकेको छैन। अहिलेसम्म उनको असली हत्यारा पत्ता नलागेको भन्दै परिवारले मृतकको शव अस्पतालमै आइसबक्समा राखेर अन्त्येष्टि गर्न अस्वीकार गर्दै आएको छ।
परिवारका अनुसार, जबसम्म यो घटना नियोजित हत्या हो वा दुर्घटना भन्ने विषयमा ठोस प्रमाणसहितको प्रहरी प्रतिवेदन आउँदैन, तबसम्म शव नजलाउने अडानमा उनीहरू छन्। यदि दुर्घटना नै हो भने पनि किन र कसरी दुर्घटना भयो भन्ने स्पष्ट प्रमाण परिवारलाई बुझाइनुपर्ने उनीहरूको माग छ।
हिजो घटनाबारे बुझ्न पुगेका डा निकोलष भुषाल सहितका युवाहरूले परिवारसँग कुरा गर्दा घटनालाई दबाउने र जबरजस्ती दुर्घटनाको रूपमा देखाउने प्रयास भइरहेको जानकारी प्राप्त भएको बताएका छन्। परिवारले सत्य बाहिर नआउँदासम्म न्याय नपाइने डर व्यक्त गरेका छन्।
युवाहरूले यस्तो विभत्स घटनालाई सामान्य रूपमा नलिन आग्रह गर्दै, यदि हत्या भएको हो भने दोषीलाई कडा कारबाही हुनुपर्ने र यदि दुर्घटना हो भने त्यसका सबै प्रमाण सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार, यदि यो घटना दबाएर हत्या लाई दुर्घटना भन्दै दोषीलाई उम्काइयो भने भोलिका दिनमा इशानजस्तै अन्य युवाहरूले पनि न्याय पाउने अवस्था रहने छैन।
युवाहरूले “न्याय मर्न नदिऔँ” भन्ने नारासहित आवाज बुलन्द पार्न सबैलाई आग्रह गरेका छन्। साथै, घटनाको निष्पक्ष अनुसन्धानका लागि प्रशासनलाई सहयोग गर्ने तर यदि प्रशासनबाट अन्याय भएको खण्डमा दबाब दिन पछि नहट्ने चेतावनी पनि दिएका छन्।
घटनाबाट पीडित इशान शर्माको परिवारलाई हामी साथमा छौं भन्ने भरोसा दिलाउँदै युवाहरूले न्यायको लडाइँमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्।