जङ्गबहादुर कुँवर (राणा) को २०९औं जन्मजयन्तीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जङ्गबहादुर कुँवर (राणा) को २०९औं जन्मजयन्तीमा

बि.सं. १८७४ असार ७ गते (१८ जुन १८१७) बुधवार तिथि अनुसार आषाढ शुक्ल चतुर्थी तिथिका दिन जङ्गबहादुरको जन्म भएको थियो । जङ्गको जन्म कहाँ भएको थियो भन्नेमा दुइ मत देखिन्छ ।

पहिलो मत अनुसार काजी बालनरसिंह कुँवर, गर्भवती कान्छी दुलही गणेशकुमारीका साथ जुम्लाबाट अर्घाखाँची झर्दै थिए । यहि बेलामा बिचैमा मथुराबेसीमा पुग्दा गणेशकुमारीलाई अचाक्ली बेथा लाग्न थाल्यो । त्यहि रातमा गणेशकुमारीले शिशुलाई जन्म दिइन् । सुत्केरी भए पछी केहि दिन त्यहि बिश्राम गर्ने निधो भयो । छैठाै दिनमा षष्ठी पुजा गरियो यस दिन छोराको जन्मको खुशियालीमा काजीले गरिव तथा  ब्राम्हणहरुलाई भोजन तथा दान गरे । एघाराै दिनमा बलकोटमा ल्याएर न्वारानको काम पुरा गराइयो र ति बालकको नाम राखियो वीरनरसिंह कुँवर ।  

दोश्रो मत अनुसार जङ्गबहादुरको जन्म गोर्खा जिल्लाको बोर्लाङ भन्ने गरिन्छ । बोर्लाङ त्यहि गाउँ हो, जहाँ भिमसेन थापा, माथवर सिंह थापाको जन्म भएको भन्ने गरिन्छ । तर भीमसेन थापाको जन्म भएको मान्यताले हाल भीमसेनथापा गाउँपालिका नामाकरण गरिएको छ । साथै यो गाउँ जङ्गबहादुरको मावली गाउँ पनि हो । छोराको जन्मको लागि माइत आएको समय जङ्गबहादुरको जन्म भएको भन्ने गरिन्छ । 

आषाढ शुक्ल चतुर्थी तिथिको राती ८ बजेर २ मिनेट जाँदा अश्लेषा नक्षत्रको पहिलो पहिलो चरणमा जन्म लिएको हुँदा कर्कट राशि हुन गएको थियो । अश्लेषा नक्षत्रको पहिलो पाउमा यदि दिनको समय जन्म भएको भए बाबु पिर्ने हुन्थ्यो तर रातमा जन्म भएको हुँदा पितृ दोषबाट भने मुक्त भए । तर जन्म नक्षत्र अनुसार उनको नामको पहिलो अक्षर "ड"बाट आउनु पर्ने हो तर त्यो किन भएन थाहा भएन । उनको नक्षत्र अनुसार शरिर डुब्लो पातलो हुने तर साहसी र निडर हुने स्वभाव भने जङ्गमा स्पष्ट देखिन्छ । काजीको घरमा जन्म भएको हुँदा उनको रवाफ बालकै देखि नै रहनु स्वभाविकै हो । तर पनि उनले पढ्न भने खासै धेरै पाएनन् । मुर्ख र जिराहा भएको हुँदा उनका मामा माथवरसिंह थापाले उनलाई जङ्गे भनेर बोलाउँथे । पछि उनि यहि नामले नै प्रख्यात भए ।

✍️ सुनिल उलाक 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।