मेयर बालेन शाह र नेपालका लागी कतारका राजदुत अन्सारी बिच भयो शिष्टचार भेट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, मध्यपूर्व क्षेत्रमा २० नोभेम्बर २०२२ (२०७९ मंसिर ४) गतेदेखि कतारले आयोजना गरेको विश्वकप फुटबल व्यवस्थापनको प्रशंसा गर्नुभएको छ । आज उहाँको कार्यकक्षमा शिष्टाचार भेटका लागि आउनुभएका नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारीसँगको कुराकानी गर्दै प्रमुख शाहले भन्नुभयो, ‘विश्वकप खेल सञ्चालन गर्न कतारमा  निर्माण गरिएको रंगशालाको अन्तरराष्ट्रिय स्तरमा ख्याती रहेको छ ।’ 

खेलजस्तै नागरिक स्तरमा तत्काल र प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमका लागि संयुक्त आयोजनामा कार्यक्रम गर्न सकिने प्रमुख शाहको भनाइ थियो ।

त्यस क्रममा राजदूत अली अन्सारीले प्रमुख शाहको कार्यशैलीको प्रशंसा गर्नुभयो । उहाँले कतारको विकासमा नेपाली नागरिकको सहयोग रहेको उल्लेख गर्दै भन्नुभयो, ‘कतारमा धेरै नेपाली हुनुहुन्छ । उहाँहरुले हाम्रो विकासमा सघाइरहनु भएको छ । कतारियनहरु पनि नेपालको विकासका लागि लगानी गर्न इच्छुक हुनुहुन्छ ।’ 

भेटका क्रममा काठमाडौँ महानगरपालिका र दोहा नगर बिच भगिनी सम्बन्ध स्थापनाको सम्भावना, परस्पर हित र सहकार्यका विषयमा कुराकानी भएको थियो । 

त्यस क्रममा प्रमुख शाहले शान्तिका प्रतीक गौत्तम बुद्धको मूर्ति मित्रताको चिनो स्वरुप उपहार दिनुभएको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।