नेपाल राष्ट्र बैंकका नव-नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको अभिव्यक्तिमाथि चर्को आलोचना
पोखरा , ८ जेठ
नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले हालै एक चर्चित टेलिभिजन कार्यक्रममा दिएको अन्तरवार्तामा गरेका टिप्पणीले व्यापक आलोचना निम्त्याएको छ। उनले भनेका थिए, “राम्रो काम गर्ने मान्छेलाई दुःख दिने, अनि यस्तै गँजेडी सँजेडीहरुलाई जिताईदिने, त्यो वातावरण सिर्जना गर्न खोजिरहेका छन्। यिनीहरु एनार्कीमा रमाउने मान्छे हुन्।”
उक्त अभिव्यक्तिलाई सामाजिक संजालमा धेरैले आपत्तिजनक र विभेदपूर्ण भन्दै आलोचना गरेका छन्। विशेष गरी गाँजा सम्बन्धी कानुनी बहस र सुधारको सन्दर्भमा गभर्नरको उक्त टिप्पणीलाई धेरैले “अविवेकी र असक्षम ” बताएका छन्।
गाँजा अभियन्ताहरूले गभर्नरको टिप्पणीलाई “गाँजा कृषकहरुमाथि चरित्र हत्या गर्ने प्रयास र गॅाजाको सन्दर्भमा नकरात्मक अपवाह फैलाउने उदेश्य रहेको ” भनेर व्याख्या गरेका छन्। एक गाँजा अभियान्ताले पृथ्वीपथ सँगको कुराकानीमा भने, “सर्वोच्च अदालतले नै केही दिनअघि गाँजा सम्बन्धी कानुनी प्रावधानको लागि बाटो खोलिसकेको बेला यस्तो टिप्पणी गर्नु अत्यन्त खेदजनक हो। गभर्नरज्यूले सार्वजनिक रूपमा माफी माग्नुपर्छ।”
नेपालमा गाँजासम्बन्धी कानुनी व्यवस्थामा लचिलोपन ल्याउने आवाजहरु विगत केही वर्षयता बढ्दै गइरहेका छन्। गाँजालाई वैद्य प्रयोगका लागि वैधानिक बनाउने प्रस्ताव संसदमा समेत प्रस्तुत भइसकेको छ। यस्तो संवेदनशील समयमा राष्ट्र बैंकजस्तो संवैधानिक निकायका प्रमुखबाट आएका यस्ता अभिव्यक्तिहरूले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै विज्ञ र नागरिक समाजले चिन्ता व्यक्त गरेका छन्।
हालसम्म गभर्नर पौडेलले सो अभिव्यक्तिप्रति कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।