पोखरा–२६ का तीन सामुदायिक विद्यालयमा ‘बुक फ्रि डे’ सुरु
लेखनाथ, जेठ २२
पोखरा महानगरपालिका वडा नं. २६ अन्तर्गत तीन वटा सामुदायिक विद्यालयमा बिहीबारदेखि ‘बुक फ्रि डे’ कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको छ। वडाभित्रका रामज्योति सक्नेरी, भवानी कालिका विजयपुर र लक्ष्मी माध्यमिक विद्यालय अर्घौमा एकै साथ उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो।
कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष नरेन्द्र थापा(नरेन) ले सामुदायिक विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीलाई हप्तामा एक दिन पुस्तक बिना शैक्षिक वातावरणमा व्यवहारिक ज्ञान र शिपमूलक तालिम प्रदान गरिने जानकारी दिनुभयो। उहाँले किताबको बोझ हटाई विद्यार्थीको सिर्जनशीलता अभिवृद्धि गर्न यो कार्यक्रम ल्याइएको बताउनुभयो।
विद्यार्थीलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ, व्यवस्थापन, मोबाइल र ल्यापटप मर्मत, प्लम्बिङ, हाउस वायरिङ जस्ता दैनिक जीवनमा उपयोगी सीपहरू प्रदान गरिनेछ। घरभित्रको सामान्य विद्युत वा पानीको समस्या समाधान गर्न पनि बाहिरी जनशक्ति खोज्नुपर्ने बाध्यता अन्त्य गर्न विद्यार्थीहरूलाई सक्षम बनाउने लक्ष्य राखिएको अध्यक्ष थापाले उल्लेख गर्नुभयो।
कार्यक्रममा वडा सदस्य लक्ष्मी भट्टराई, सुजता बराल सुनार, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरू तथा सहयोगी संस्था ‘आकार’ का इन्जिनियर सन्दीप पौडेलले पनि बुक फ्रि डे को आवश्यकता र प्रभावबारे धारणा व्यक्त गरेका थिए।
वडाले चालु आर्थिक वर्षमा कार्यक्रम सञ्चालनका लागि पाँच लाख रुपैयाँ विनियोजन गरेको छ। कार्यक्रम अन्तर्गत तीन विद्यालयका झण्डै २५० जना विद्यार्थी लाभान्वित हुनेछन्।