पुर्व प्रधानमन्त्री देउवा पुत्रको नाममा नक्सालस्थित हिल्टन होटल खरिद : देउवा परिवारको सम्पत्ति स्रोतमा प्रश्न उठ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पुर्व प्रधानमन्त्री देउवा पुत्रको नाममा नक्सालस्थित हिल्टन होटल खरिद : देउवा परिवारको सम्पत्ति स्रोतमा प्रश्न उठ्दै

काठमाडौं, वैशाख २७ —
पटक–पटक प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वर्तमान परराष्ट्रमन्त्री डा. आरजु देउवाका छोरा जयवीर सिंह देउवाले राजधानीको नक्सालमा अवस्थित पाँचतारे हिल्टन होटल खरिद गरेको पुष्टि भएपछि राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। व्यवसायिक पृष्ठभूमि नरहेका तथा ठूलो पैतृक सम्पत्ति नभएका जयवीर कसरी यति ठुलो लगानी गर्न सक्षम भए भन्ने विषयले सर्वसाधारणको चासो आकर्षित गरेको छ।

हिल्टन होटल जस्तो अन्तर्राष्ट्रिय ब्रान्ड अन्तर्गत सञ्चालनमा रहेको होटल खरिदका लागि करोडौं रुपैयाँको लगानी आवश्यक पर्छ। देउवा पुत्र जयवीरले कसरी यस्तो लगानीको जोहो गरे भन्ने स्पष्ट नहुँदा सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म प्रश्नहरू उठिरहेका छन्।

यस विषयमा सार्वजनिक रुपमा कुनै विवरण नआएको भएपनि, स्रोतहरूका अनुसार होटल खरिद प्रकरणमा विदेशी लगानी, फ्रन्ट कम्पनी वा नाम मात्रका साझेदारको संलग्नता हुन सक्ने आशंका गरिएको छ। पारदर्शिताको सवाल उठाउँदै कतिपयले यसमा अनुसन्धान हुनुपर्ने मागसमेत गरेका छन्।

नेपालमा राजनीति र व्यवसायबीचको अन्तर कमजोर हुँदै गएको, राजनीतिक पहुँचको प्रयोग गरी अवैध वा अस्पष्ट आर्थिक लाभ लिने प्रवृत्तिलाई यस घटनाले झनै उजागर गरेको टिप्पणी भइरहेको छ।

नेपाल ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार, “सार्वजनिक पदमा बसेका व्यक्तिका परिवारका आर्थिक गतिविधि पूर्ण पारदर्शी हुनुपर्छ। यदि कुनै गम्भीर शंका उठेको छ भने त्यसमा स्वतन्त्र निकायले छानबिन गर्नुपर्छ।”

हिल्टन होटल खरिदबारे देउवा परिवार वा नेपाली कांग्रेसले औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। यता, पत्रकारहरूका प्रश्नमा समेत देउवा पक्ष मौन देखिएको छ।

यस घटनाले आगामी दिनमा राजनीतिमा पारदर्शिता, आचरण र जवाफदेहिताका विषयमा थप बहस जन्माउने निश्चित देखिन्छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।