रास्वपामा नेतृत्व परिवर्तनको चर्चा : रबि लामिछानेको स्थानमा उनकी पत्नि निकिता पौडेललाई नेतृत्व सम्हाल्न अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रास्वपामा नेतृत्व परिवर्तनको चर्चा : रबि लामिछानेको स्थानमा उनकी पत्नि निकिता पौडेललाई नेतृत्व सम्हाल्न अनुरोध 

पोखरा, जेठ १०—
सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेमाथि सर्वोच्च अदालतबाट थुनामै पठाउने आदेश जारी भएपछि पार्टीभित्र नेतृत्वको बहस चुलिएको छ। यसैबीच, लामिछानेकी धर्मपत्नी तथा चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष निकिता पौडेललाई पार्टीको कमान सम्हाल्न आग्रह गर्दै रास्वपाभित्रैबाट आवाज उठ्न थालेको छ।

रास्वपाका नेतृ सरिन तामाङले सामाजिक सञ्जालमार्फत निकिता पौडेललाई पार्टी नेतृत्वमा आउन अपिल गरेकी छन्। उनले लेखेकी छन्, “अति भयो अब सकिन चुपचाप बस्नुलाई माफ गर्नु होला यति मैले लेखे। यो मेरो व्यक्तिगत धारणा हो, कृपया षड्यन्त्र नगरिदिनु होला।”

तामाङले भारत, पाकिस्तान र नेपालको राजनीतिक उदाहरण दिँदै रबि लामिछानेको अनुपस्थितिमा निकिता पौडेलले नेतृत्व लिन सक्ने स्पष्ट संकेत गरेकी छन्। उनले भनेकी छन्, “भारतमा लालु प्रसाद यादव जेल जाँदा उनकी श्रीमती हातमा चप्पल लिएर संसद छिरेकी थिईन् । पाकिस्तानमा इमरान खान जेलमा हुँदा उनकी श्रीमतीले अगुवाइ गरिरहेकी छन्। नेपालमै पनि रेशम चौधरी जेल परेपछि उनकी पत्नी रन्जिता श्रेष्ठले पार्टी नेतृत्व सम्हालेर चुनाव जितिन् र मन्त्री समेत बनिन्।”

त्यसैगरी, तामाङले निकिता पौडेलको अघिल्लो भूमिकालाई स्मरण गराउँदै भनेकी छन्, “चलचित्र बोर्डको नेतृत्व सम्हालिसकेकी सक्षम महिला तपाईं पार्टीको नेतृत्व सम्हाल्न आउनुहोस्, हामी तपाईंको साथमा छौं।”

रबि लामिछानेको थुनामा पठाउने आदेशसँगै पार्टी नेतृत्वमा उत्पन्न रिक्तता, सम्भावित संक्रमण र आगामी रणनीति बारे रास्वपाभित्र बहस शुरु हुने निश्चित जस्तै भएको छ। यद्यपि पार्टीको आधिकारिक धारणा अझै बाहिर आएको छैन।

निकिता पौडेलले यस विषयमा सार्वजनिक रुपमा कुनै टिप्पणी गरेकी छैनन्। तर, सामाजिक सञ्जाल र पार्टीभित्र उनीप्रति बढ्दो समर्थनले रास्वपाको आगामी नेतृत्वमा सम्भावित परिवर्तनको संकेत दिएको देखिन्छ।

रास्वपाको आगामी निर्णय र पौडेलको सम्भावित भूमिकाले नेपाली राजनीतिको एउटा नयाँ मोड लिन सक्ने प्रवल संकेत देखिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।