शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतको गिरफ्तारीप्रति आपत्ति, धर्म-संस्कृति विभागद्वारा विज्ञप्ति जारी
काठमाडौं, वैशाख २९ — शिवसेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेत (अनिल बाबा) को हालै भएको गिरफ्तारीप्रति राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको केन्द्रीय धर्म, संस्कृति विभागले कडा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ।
विज्ञप्तिमा अभिव्यक्ति स्वतन्त्रताको खुलेआम उल्लंघन गर्दै राष्ट्रवादी आन्दोलनमा सहभागी भएको बहानामा अनिल बाबा जस्तो राष्ट्रप्रेमी धर्मप्रेमी व्यक्तिको गिरफ्तारी “निन्दनीय” भएको उल्लेख गरिएको छ।
विभागका केन्द्रीय अध्यक्ष ऋषिराज बरालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आस्थाका आधारमा धरपकड गर्ने र बन्दी बनाउने कार्य पूर्णरूपमा अस्वीकार्य छ। यस्तो निन्दनीय कार्य नगर्न सम्बन्धित निकायलाई कडा चेतावनी दिन चाहन्छौं।”
विज्ञप्तिमा वैदिक सनातन धर्मको रक्षा, संवैधानिक राजतन्त्रको पुनर्स्थापना, तथा हिन्दू अधिराज्यको माग समेत गरिएको छ। आन्दोलनमा संलग्न र राष्ट्रका पक्षमा उभिएका व्यक्तिहरूलाई लक्षित गरी गरिएको दमन बन्द गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ।
यस घटनाले धार्मिक तथा राष्ट्रवादी समूहहरूबीच आक्रोश पैदा गरिरहेको छ भने सामाजिक सञ्जालमार्फत पनि विभिन्न प्रतिक्रियाहरू देखिएका छन्।