सिंहदरबार परिसरबाट श्रम मन्त्रालयको सरकारी गाडी हरायो, गृह मन्त्रालयलाई खोजीका लागि पत्राचार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिंहदरबार परिसरबाट श्रम मन्त्रालयको सरकारी गाडी हरायो, गृह मन्त्रालयलाई खोजीका लागि पत्राचार

काठमाडौं, असार २० — नेपालको सबैभन्दा सुरक्षित मानिने सरकारी प्रशासनिक केन्द्र सिंहदरबार भित्रैबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सरकारी सवारी साधन हराएको छ।

प्रदेश ३–०१–००२ झ ३३६७ नम्बरको महिन्द्रा स्कोर्पियो एस–फोर मोडेलको गाडी अचानक गायब भएपछि मन्त्रालयले गम्भीर चासो व्यक्त गर्दै खोजी कार्यका लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, र उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा औपचारिक पत्राचार गरेको छ।

श्रम मन्त्रालयका अनुसार उक्त गाडी मन्त्रालयकै नियमित प्रयोगमा रहेको थियो र सिंहदरबार परिसरमै पार्क गरिएको अवस्थामा हराएको बताइएको छ। गाडी कहिले र कसरी हरायो भन्ने स्पष्ट विवरण हालसम्म सार्वजनिक गरिएको छैन।

सार्वजनिक क्षेत्रको सुरक्षा, निगरानी र ट्राफिक व्यवस्थापनका लागि जिम्मेवार निकाय भएको सिंहदरबार परिसरबाटै सरकारी गाडी हराउनु गम्भीर सुरक्षा चुनौतीको रूपमा हेरिएको छ।

घटनापछि मन्त्रालयले सम्बन्धित सुरक्षा निकायसँग तिव्र रूपमा समन्वय गरिरहेको जनाएको छ। प्रहरी स्रोतका अनुसार खोजी कार्य तीव्र पारिएको छ र सिंहदरबार वरपरको सीसीटीभी फुटेज संकलन गर्ने कार्य पनि सुरु गरिएको छ।

यस घटनाले सिंहदरबारको सुरक्षा प्रणालीको प्रभावकारिता माथि प्रश्न उठाएको छ। घटनाको छानबिन र दोषी पहिचानको मागसमेत व्यापक रूपमा उठ्न थालेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।