स्याङ्जामा नागरिकता भन्दा राहदानी बनाउनेको सङ्ख्या बढी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वालिङ (स्याङ्जा) । स्याङ्जामा नागरिकता लिनेभन्दा राहदानी (पासपोर्ट) बनाउनेको सङ्ख्या बढी रहेको पाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको सङ्ख्या पाँच हजारभन्दा बढी रहेको तत्थ्यांक फेला परेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी दीपक पौडेलका अनुसार आर्थीक वर्ष २०८०/८१ मा स्याङ्जाबाट ९ हजार ४८७ जनाले नागरिकता लिएका थिए । सोही अवधिमा १४ हजार ८२२ जनाले राहदानी लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट कुल १५ हजार १९३ राहदानी सिफारिस गरिएको थियो । सिफारिस गरिएका राहदानी बनेर आए पनि सम्बन्धित व्यक्ति लिन नआउँदा सिफारिस भन्दा वितरण थोरै देखिएको हो । गत आर्थीक वर्षमा राहदानी बनाएकामध्ये ३७१ राहदानी वितरण गर्न बाँकी नै रहेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय र वालिङ स्थीत इलाका प्रशासन कार्यालयबाट नागरिकता तथा राहदानी वितरण हुँदै आएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट आर्थीक वर्ष २०८०/८१ मा प्रतिलिपि बाहेक वंशजका आधारमा र गैरआवासीय नागरिकता ४ हजार ९०४ वितरण गरिएको सूचना अधिकारी पौडेलले बताए ।

सोही अवधिमा इलाका प्रशासन कार्यालय वालिङबाट ४ हजार ५८३ नागरिकता वितरण भएका थिए । दुवै कार्यालयबाट गत आर्थीक वर्षमा कुल ९ हजार ४८७ नागरिकता वितरण भएका थिए । 

स्याङ्जाबाट वैवाहिक अंगीकृत नागरिकता २४ वितरण भएका सूचना अधिकारी पौडेलले बताए । स्याङ्जाबाट १९ र वालिङबाट पाँच  वैवाहिक अंगीकृत नागरिकता वितरण भएका थिए । कुल १४ हजार ८२२ राहदानी मध्ये स्याङ्जाबाट ७ हजार ४४३ र वालिङबाट ७ हजार ३७९ वितरण भएका थिए ।

“जिप्रका तथा इप्रकाबाट नागरिकताभन्दा राहदानी लिने सेवाग्राही बढी छन्,” उनले भने, “स्यांजामा नागरिकता बनाउनेभन्दा राहदानी बनाउनेहरू धेरै हुनुको प्रमुख कारण भनेको राहदानीको आवश्यकता र महत्व हो। राहदानी विदेशी यात्रा गर्नका लागि आवश्यक कागजात हो, जसले व्यक्ति अन्तर्राष्ट्रिय रूपमा यात्रा गर्न र विदेशमा काम, अध्ययन, वा अन्य उद्देश्यका लागि बस्न मद्दत गर्छ।

नेपालजस्ता मुलुकमा विदेश जाने इच्छा धेरैले राख्ने भएकाले राहदानीको माग बढी भएको हो ।अर्कोतर्फ, नागरिकता भने व्यक्तिगत पहिचान र अधिकारसंग सम्बन्धित हुन्छ ,जसलाई एकपटक बनाएपछि फेरि बनाउनु पर्ने हुदैन । यसले गर्दा राहदानी बनाउनेहरूको संख्या नागरिकता बनाउनेहरू भन्दा धेरै भएको हो ।

त्यसैगरी, केही मानिसहरूलाई नागरिकता भन्दा राहदानीको आवश्यकता अधिक महसुस हुने भएकाले पनि यस्तो हुन सक्छ।अध्ययन, रोजगारीका लागि तथा घुम्न जाने, तत्काल आवश्यक नपरे पनि बनाएर राख्ने तथा चाहिँदा तत्काल प्रयोग गर्न पाइने भएकाले पनि राहदानी बनाउनेको सङ्ख्या धेरै देखिएको हो ।”

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।