पोखराकी विद्याद्वारा राजा ज्ञानेन्द्रको जन्मोत्सवमा हिमानी ट्रस्टलाई स्वास्थ्य सामग्री हस्तान्तरण
पोखरा। समाजसेवामा दुई दशकभन्दा बढी समयदेखि निरन्तर सक्रिय रहँदै आएकी पोखराकी समाजसेवी विद्या अधिकारीले राजा ज्ञानेन्द्र शाहको जन्मोत्सवको अवसर पारेर हिमानी ट्रस्टलाई उल्लेखनीय मात्रामा स्वास्थ्य सामग्री सहयोग गरेकी छन्।
स्वास्थ्य सामग्रीको यो सहयोगले ट्रस्टमार्फत सेवा पाउने अशक्त, ज्येष्ठ नागरिक, बिरामी तथा आवश्यकतामा रहेका नागरिकलाई प्रत्यक्ष राहत पुग्ने विश्वास गरिएको छ।
दुई दशकदेखि सामाजिक सेवामा सक्रिय विद्या अधिकारीले विपद् व्यवस्थापन, विपन्न परिवारको सहयोग तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक सहयोगजस्ता क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी छन्। मानवीय सेवालाई आफ्नो जीवनको प्राथमिकतामा राख्दै आएकी अधिकारीले यसपटक पनि सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै हिमानी ट्रस्टमार्फत स्वास्थ्य सामग्री उपलब्ध गराएकी हुन्।
उनका अनुसार हिमानी ट्रस्टले समाजका विभिन्न वर्गका नागरिकका लागि गर्दै आएको सेवामूलक कार्यबाट आफू प्रभावित भएको र सोही भावनाले प्रेरित भएर राजा ज्ञानेन्द्र शाहको जन्मोत्सवको अवसरमा स्वास्थ्य सामग्री सहयोग गरिएको हो।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा हिमानी शाह, कृतिका शाहलगायत शाही परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा समाजसेवा, मानवीय सहयोग र परोपकारलाई अझ प्रभावकारी बनाउँदै लैजान यस्ता सहकार्यले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरिएको थियो।
सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई व्यवहारमै उतार्दै विद्या अधिकारीले गरेको यो सहयोगलाई मानवीय सेवाप्रतिको उदाहरणीय योगदानका रूपमा हेरिएको छ।