रातो मच्छिन्द्रनाथको रथयात्रा : १६०० वर्ष पुरानो संस्कृति झल्किने ऐतिहासिक सहभागिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रातो मच्छिन्द्रनाथको रथयात्रा : १६०० वर्ष पुरानो संस्कृति झल्किने ऐतिहासिक सहभागिता

पाटन, ललितपुर – पृथ्वीपथ संवाददाता

पाटनको ऐतिहासिक एवं सांस्कृतिक गौरवको प्रतीक, रातो मच्छिन्द्रनाथको रथयात्रा यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। करिब १६०० वर्ष पुरानो मानिने यस रथयात्रा बैशाख शुक्ल प्रतिपदादेखि सुरु भई असार शुक्ल चौथीसम्म झन्डै दुई महिनासम्म मनाइन्छ।

उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा मानिने मच्छिन्द्रनाथको रथयात्रा पाटनको पुल्चोकबाट सुरु भएर मंगलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलमा पुगेर सम्पन्न हुन्छ। भगवान मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) लाई विशाल काठे रथमा विराजमान गराई नगरका विभिन्न ठाउँमा परिक्रमा गराइन्छ।

जात्राको अन्तिम तथा सबैभन्दा प्रतीक्षित दिन ‘भोटो देखाउने’ समारोहमा हजारौं भक्तजनको सहभागिता रहने गर्दछ। मणि, माणिक, रत्न जडित ऐतिहासिक भोटो सार्वजनिकरूपमा देखाइन्छ। परम्पराअनुसार राजतन्त्रको समयमा स्वयं राजा जात्रास्थलमा उपस्थित भई भोटो हेर्थे भने गणतन्त्र स्थापनापछि राष्ट्रपतिले त्यस परम्परालाई निरन्तरता दिँदै आएका छन्।

२०६५ सालमा कार्यकारी राष्ट्रप्रमुखका रूपमा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले भोटो देखाएको स्मरणीय इतिहास पनि छ।

भोटो देखाएपछि जात्रा विधिवत् रूपमा समापन हुन्छ। तत्पश्चात मच्छिन्द्रनाथको मूर्तिलाई बाजागाजासहित प्राचीन खटमा राखी बुङ्मतीस्थित मच्छिन्द्रबहालमा ल्याई पुनःस्थापन गरिन्छ।

संस्कृतिविद्हरूका अनुसार यो जात्राले नेपालको धार्मिक सहिष्णुता, कलात्मक परम्परा, तथा सांस्कृतिक एकताको अद्भुत झल्को दिने गरेको छ। जात्रामा हिन्दू र बौद्ध दुवै धर्मालम्बीहरूको एकसाथ सहभागिता रहने हुँदा यसले सामाजिक ऐक्यबद्धताको सन्देशसमेत दिन्छ।

प्रत्येक वर्ष झैँ यसपटक पनि जात्रामा हजारौं श्रद्धालु, पर्यटक, र संस्कृतिप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।