सहकारीको बजेट दुरुपयोगको विरोधमा सामाजिक युवा अभियान्ता सन्देश भण्डारीको आमरण अनशन
असाढ-१९ गढवा, दाङ
लुम्बिनी प्रदेश अन्तर्गत दाङको गढवा गाउँपालिका–१, बनगुश्री गाउँमा रहेको एक धानखोला कृषि सहकारी संस्थामा भएको बजेट दुरुपयोगको विरोधमा सामाजिक अभियन्ता सन्देश भण्डारी क्षेत्री आमरण अनशनमा बसेका छन्।
प्रदेश सरकारबाट प्राप्त १० लाख, गाउँपालिकाबाट ४ लाख र वडा कार्यालयबाट १ लाख रुपैयाँ गरी जम्मा १५ लाखको अनुदान कृषि प्रवर्द्धनका लागि सहकारीमा आएको थियो। तर भण्डारीका अनुसार, सो रकम सहकारीमा पारदर्शी ढंगले प्रयोग नगरी बाहिरी समिति बनाएर स्वार्थपूर्ति गर्ने गरी दुरुपयोग गरिएको छ।
अनसनरत भण्डारीले आरोप लगाएअनुसार, सहकारीमा आएको उक्त रकमको लेखाजोखा नगरिएको, वार्षिक अडिटसमेत सार्वजनिक नगरेको र आम्दानी खर्चको हिसाबकिताब नदेखाइएको अवस्थामा स्थानीय महिलाहरूले आवाज उठाउन खोज्दा उल्टै ज्यान मार्ने धम्की दिनेसम्मका घटना भएका छन्। आरोप लागेका व्यक्तिहरूमध्ये एक जना सार्वजनिक पद धारण गरेको व्यक्तिले समेत महिलाहरूमाथि धम्की दिएको भन्दै उनीहरू त्रसित बनेका छन्।
बजेट दुरुपयोग सम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गरिए पनि स्थानीय तहमा प्रभावशाली नेताहरूको संलग्नता रहेको भन्दै छानबिन प्रक्रियामा ढिलाइ हुँदै आएको छ। भण्डारीका अनुसार, अख्तियारबाट पत्र आएपछि पनि गाउँपालिकाका उपाध्यक्ष आफैँ ढाल बनेर दोषीलाई जोगाउन तल्लीन छन्।
यसै घटनाको निष्पक्ष अनुसन्धान, दोषीलाई कारबाही र सहकारीमा पारदर्शिता कायम गर्नुपर्ने मागसहित सन्देश भण्डारीले सुरुवातमा प्रदेश सभा अगाडी अनशन सुरु गरेका थिए तत्पश्चात पालिका को कमजोरी देखीएपछि भन्डारी गढवा गाउपालिकाको कार्यलय परिसर भित्रै आजदेखी अनिश्चितकालीन आमरण अनशन थालेका छन्। यता स्थानीय बासिन्दाहरूले पनि घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।
यदि सम्बन्धित निकायले समयमा ध्यान नदिएमा आन्दोलन अझ सशक्त बनाउने चेतावनी भण्डारीले दिएका छन्।